सैनिक आचार संहिता विपरित कार्य गर्नेलाई कार्वाही

1278
views

काठमाडौं ७, बैशाख। नेपाली सेनामा कार्यरत सकलदर्जाले आफू बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यवहारिक आचरणहरुका बारेमा हु लागेको सैनिक आचार संहिता २०७६ को शुभारम्भ भएको छ ।

वैशाख ६ गतेदेखि १३ गतेसम्म सञ्चालन हुन गईरहेको सैनिक आचार संहिता २०७६ को सप्ताह कार्यक्रमलाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले जङ्गी अड्डास्थित श्री त्रिभुवन आर्मी अफिसर्स क्लबमा शुभारम्भ गरेका हुन् ।

‘आचार संहिताको सप्ताह, सैनिक सदाचारको उत्साह’ भन्ने मूल नाराका साथ सञ्चालन भएको उक्त कार्यक्रममा प्रधानसेनापति थापाले सकलदर्जालाई सम्बोधन गर्दै संगठनको गरिमामय इतिहास, पूर्खाहरुको वीरता, विगतमा राष्ट्रलाई आवश्यक परेको समयमा नेपाली सेनाले निर्वाह गरेका विविध जिम्मेवारीहरु एवम् अन्तराष्ट्रिय शान्ति स्थापना कार्यमा पुर्याएको योगदानबारे चर्चा गरे ।

थापाले नेपाली सेनाप्रति नेपाली जनताको विश्वासको मुख्य आधार भएको भन्दै सवै कार्य सम्पादनार्थ सकलदर्जाले प्रदर्शन गरेको निःस्वार्थ सेवाभाव, व्यावसायिक चरित्र, उच्च अनुशासन र आचरण महत्वपूर्ण रहेको बताए ।

उनले नेपाली सेनामा सैनिक आचार संहिताको आवश्यकता र महत्वकोबारे प्रकाश पार्दै यो आचार संहिता सकलदर्जालाई शिक्षित गराउनको लागि सेनाका सबै युनिटहरुमा प्रत्येक वर्षको वैशाख महिनाको पहिलो हप्तामा संचालन गरिने र यसरी शिक्षित गर्दा गर्दै पनि आचार संहिता विपरित कार्य गर्ने जो–कोहिलाई सैनिक ऐन अनुसार कारवाही गरिने समेत प्रष्ट्याए ।

प्रधानसेनापति थापाले सैनिक आचार संहिता संग्रह–२०७६ र सो सम्बन्धी तयार गरिएको ब्रोसर विमोचन गरेका थिए । सो अवसरमा सैनिक आचार संहिता सम्बन्धी तयार गरिएको डकुमेन्ट्री समेत प्रदर्शन गरिएको थियो ।