गोजुरियो कराँते डो मिसन संघको राष्ट्रिय टोली भारत प्रस्थान

1033
views

बैशाख । भारतमा हुने इन्टरनेशनल कराँते एण्ड किक बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउन नेपालको प्रतिनिधित्व गर्दै जापान गोजुरियो कराँते डो मिसन संघको राष्ट्रिय टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

पटनाको पाटलीपुत्र स्पोट्र्स कम्पेलेक्समा यही वैशाख ९ र १० गते हुने प्रतियोगितामा सहभागी हुन उक्त सङ्घका प्रमुख प्रशिक्षक केबि राना (काजी) को नेतृत्वमा ३५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको हो । टोलीलाई बेलहियामा नेपाल भारतमैत्री समाजका अध्यक्ष शान्तकुमार शर्माले राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाइ गर्नुभएको थियो । उक्त प्रतियोगितामा नेपालसहित आठ देशले सहभागिता जनाउने प्रमुख प्रशिक्षक रानाले जानकारी दिए ।

खेलाडीसँगै नेपालका तर्फबाट कराते महासङ्घका प्रदेश ५ अध्यक्ष भरतबहादुर केसी, जापान गोजु रियो कराते डो मिसन सङ्घका केन्द्रीय सचिव गिरी पुन, महासङ्घका रुपन्देही जिल्ला अध्यक्ष उमेश थापामगर र चिकित्सक डा विकास आले, खेलाडी र पत्रकारको टोली भारत गएको हो । टोलीमा रुपन्देही, कास्की, बाँके, सुर्खेत र बागलुङका खेलाडी सहभागी छन् ।