बोक्सी विरुद्धको अभियान कञ्चनपुर र बर्दियामा

762
views

हेमजा, ८, बैशाख । राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले कञ्चनपुर र बर्दियामा बोक्सी कु–प्रथा बिरुद्घको अभियान गरेको छ । ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ भन्ने सचेतना सहित राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले उक्त अभियान सञ्चालनसँगै सम्पन्न गरेको हो ।

कञ्चरपुरको दोधारा चाँदनी नगरपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै ७ नं. प्रदेश सांसद मानबहादुर सुन्दासले बोक्सी कु–प्रथा विरुद्धको अभियान समय सान्दर्भिक रहेको बताए । उनले यो अभियानको संदेशलाई नेपालका सबै स्थानिय तहमा लैजानुपर्ने आवश्यकता औँल्याए ।

त्यस अवसरमा नगरपालिकाका उपमेयर बिनी गिरी, संस्थाका अध्यक्ष कोविदशरण उपाध्याय, संरक्षक भुवनेश्वर शर्मा पौडेल, स्थानीय कृष्ण समाज विकास नेपालका अध्यक्ष भुवन विहारी पन्त लगायतले अभियानको समग्र अवस्थामाथि प्रकाश पारेका थिए ।

सो अवसरमा अधिवक्ता भीमप्रसाद श्रेष्ठले प्रशिक्षण दिनुका साथै अग्निदहन चलचित्र पनि प्रदर्शन गरिएको थियो । त्यस्तै बोक्सी कु–प्रथा विरुद्धका सामाजिक गीतहरु लगायत बोक्सी कसुर ऐन २०७२ बितरण गरिएको थियो ।

त्यस्तै उक्त अभियान मंगलवार बर्दिया जिल्ला स्थित बढैयाँताल गाउँपालिकाको मैनापोखरमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष दीपाकुमारी गौतमले अभियान सराहनीय भएको जनाउँदै सरकारले त्यसमा साथ दिनुपर्ने भनाई राखिन् ।

कार्यक्रमका बीच अधिवक्ता भीमप्रसाद श्रेष्ठले प्रशिक्षण दिनुका साथै अग्निदहन चलचित्र प्रदर्शन गरिएको थियो । त्यस्तै बोक्सी कु–प्रथा विरुद्धका सामाजिक गीतहरु लगायत बोक्सी कसुर ऐन २०७२ वितरण पनि भएको थियो ।

उक्त अभियानका लागि पोखराबाट प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्याय, संरक्षक भुवनेश्वर शर्मा पौडेल, अभिवक्ता भीमप्रसाद श्रेष्ठ, प्रतिष्ठान सदस्य नारायण देवकोटा सम्मिलीतको टोली त्यसतर्फ गएको थियो ।