सुरुङमार्ग निर्माणका लागि थप एकअर्ब ८१ करोड

551
views

काठमाडौँ, ८ वैशाख । राजधानी भित्रिने मुख्य नाकाको थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माण गर्न थप एककरोड ८१ करोड रुपैयाँ प्रदान गरिएको छ ।

सुरुङमार्ग निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण तथा घर टहरा हटाउन सो रकम प्रदान गरिएको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ थापाले बताए । उनका अनुसार अर्थ मन्त्रालयबाट सुरुङमार्ग आयोजनालाई गतसाता नै सो रकम प्राप्त भइसकेको छ ।

थानकोट–नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख श्याम खरेलका अनुसार जग्गा अधिग्रहण गर्न काठमाडौँ जिल्लामा पर्ने जग्गाका लागि प्रति आना न्यनूतम नौ लाख रुपियाँदेखि अधिकतम ४२ लाख रुपियाँसम्मको मूल्य निर्धारण गरिएको बताए ।

प्रस्तावित सुरुङमार्ग निर्माणका लागि आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र ढाँचा (डिजाइन) यसअघि नै तयार भइसकेको छ । सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन र डिजाइन जापान सरकारले गरेको हो ।

उक्त सुरुङमार्ग निर्माणका लागि नेपाल सरकार र जापानी सहयोग नियोग (जाइका) सँग १६ अर्ब रुपियाँको ऋण सहयोग सम्झौता समेत भइसकेको छ । जापानसँग ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौता भएको थियो ।

मुलुककै पहिलो टनेल सडकको रुपमा प्रस्तावित सुरुङमार्गको निर्माण प्रक्रिया अगाडि बढाउन चालु आर्थिक वर्षको वजेटमा एक अर्ब ६७ करोड रुपियाँ विनियोजन गरिएको छ ।