पत्रकार रामकुमार श्रेष्ठ सम्मानित

3176
views

कावासोती । महाभुकम्पमा भएको पुननिर्माणमा सञ्चार क्षेत्रबाट पुर्याएको योगदानका कदर गर्दै राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई नवलपरासीले पत्रकार रामकुमार श्रेष्ठलाई सम्मानित गरेको छ ।

पत्रकार श्रेष्ठ क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय सचिव हुन् । २०७२ बैशाख १२ गते गएको महाविनाशकारी महाभुकम्पबाट भएको ठूलो जनधनको क्षतिको स्मरण गर्दै विहीबार आयोजना गरिएको चौथो स्मृति दिवसमा श्रेष्ठलाई सम्मान गरिएको हो ।

दाउन्ने साप्ताहिकका प्रकाशक एवम् सम्पादक श्रेष्ठले आफै पहलमा दाउन्ने न्यूज अनलाइन पनि सञ्चालन गर्दै आएका छन् । श्रेष्ठ राष्ट्रिय स्तरका राजधानी दैनिक, सगरमाथा टेलिभिजन र अनलाइन खबरमा नवलपरासी संवाददाताको रुपमा कार्यरत छन् ।

त्यसैगरी श्रेष्ठ स्थानीय पत्रपत्रिकाहरु पोखराको आदर्श समाज, चितवनको चितवन पोष्ट, बुटवलका तिलोत्तमा दैनिकमा आवद्ध छन् भने बुटवलको बुटवल एफ.एम., बुद्ध टेलिभिजनमा पनि आवद्ध छन् । २०५८ सालदेखि पत्रकारितामा लागेका श्रेष्ठ हाल नेपाल पत्रकार महासंघ नवलपुरका सल्लाहाकार समेत हुन् । श्रेष्ठ रेडियो कावासोतीका संस्थापक प्रबन्ध निर्देशक हुन् ।

सोही क्षेत्रमा महाभुकम्पबाट भएको क्षतिको पुननिर्माणमा योगदान पुर्याएवापत विभिन्न संघसंस्थाका प्रतिनिधि, जिल्ला आयोजना कार्यान्वयन इकाई नवलपरासीका प्राविधिक, इन्जिनियर, कर्मचारी, लगायतहरुलाई पनि सम्मान गरिएको थियो ।

जिल्ला आयोजना कार्यान्वयन इकाई नवलपरासीका प्रमुख राजेन्द्र कार्कीको सञ्चालनमा भएको कार्यक्रममा नवलपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले सम्मानित हुनेहरुलाई सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रम पूर्वी नवलपरासीका जिल्ला समन्वय समितिका प्रमुख चेसराम आलेको अध्यक्षतामा भएको थियो ।