विश्व प्रेस स्वतन्त्रता दिवस, साहसिक पत्रकारहरुप्रति सम्मान व्यक्त गर्ने दिन

513
views

काठमाडौं, वैशाख २० । सन् १९९३ देखि मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसकारूपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसंघको साधारणसभाले निर्णय गरेर आह्वान गरेअनुसार यो दिवस हरेक सदस्य राष्ट्रमा मनाउने प्रचलन सुरु भएको हो ।

यो वर्ष राष्ट्रसंघकै आयोजनामा इथियोपियाको राजधानी आदिस अबावामा विशेष सम्मेलन भइरहेको छ । यो किन पनि महत्वपूर्ण छ भने सन् १९९१ मा अर्को अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको सम्मेलनले जारी गरेको घोषणापत्रको स्मरणमा नै यो दिवस सुरु भएको हो ।

उक्त सम्मेलन युनेस्कोको आयोजनामा भएको थियो र सम्मेलनको मूल उद्देश्य बहुलवादी र स्वतन्त्र प्रेसका लागि गर्नुपर्ने कामहरू निर्दिष्ट गर्नु थियो । स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि जारी विन्डहक घोषणापत्र एउटा महत्वपूर्ण अन्तर्रा्ष्ट्रिय दस्तावेज हो । जसको सान्दर्भिकता आज पनि उत्तिकै छ ।

प्रेस स्वतन्त्रता दिवस मनाउनुको मुख्य कारण समाचारको खोजी र प्रस्तुतिका लागि आफ्नो जीवनसमेतको पर्वाह नगरी खट्ने सन्चारकर्मी जसले अनेक प्रकारका दमनको सामना गर्नुपरेको छ, उनीहरूप्रति सम्मान व्यक्त गर्नु हो ।

पत्रकारहरू राज्य र गैरराज्यपक्ष दुवैतर्फबाट अनेक प्रकारका दमनका शिकार हुनेक्रम संसारभर रोकिएको छैन । हरेक वर्ष सयौं पत्रकार कार्यक्षेत्रमा मारिँदै आएका छन् । घाइते हुने र अनेक शारीरिक यातना पाउने त हजारौं हुन्छन् । जेल र हिरासतमा बस्नुपर्ने नियति पनि उस्तै छ । धम्की, डर र त्रासबाट सताइनेको संख्या त अनगिन्ती छ ।

मे ३ उनीहरूको सहास, जाँगर र योगदानको सम्मान व्यक्त गर्ने दिन हो । उनीहरूका दुःख–कस्ट सम्झने दिन हो ।

मे ३ को अवसरमा राज्यलाई प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्ने दायित्व र कर्तव्य तिम्रो हो भनेर स्मरण गराउने र राज्यलाई थप कटिबद्ध हुन दबाब दिने दिन भएको बताउँछन्, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल ।

मे ३ का दिन प्रेस स्वतन्त्रता हनन्का घटनाहरूका तथ्यांक र विश्लेषण प्रस्तुत् गरेर हरेक देशका आम मानिसलाई यो अवस्थाकाबारेमा सचेत र जागरुक बनाउनुपर्ने अर्को मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।

नेपालमा पनि यो दिवस सन् १९९५ देखि हरेक वर्ष मनाउँदै आउने गरिएको छ । आजपनि नेपाली प्रेसको अवस्था स्वतन्त्रताका दृष्टिमा जोखिमयुक्त नै देखिन्छ ।

नेपालमा विगत एक वर्ष (सन् २०१८ मे देखि २०१९ अप्रिलसम्म) मा १०४ प्रेस स्वतन्त्रता उल्लंघनका घटना घट्दा १५८ पत्रकार प्रत्यक्ष प्रभावित भएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा डेढ गुणाले बढी हो । अघिल्लो वर्ष यो संख्या ६६ रहेको थियो ।

यस वर्षमा १०४ उल्लंघनका घटनामध्ये आक्रमणरहातपातका ३१, समाचार संकलन रोक र तोडफोडमा १६, दुर्व्यवहार २८, ज्यानमार्ने धम्की १९ र तीन घटना समाचार लेखेकैभरमा पत्रकारविरुद्ध मुद्दा रहेका छन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पछिल्लो समय नेपाली प्रेस तथा पत्रकारमाथि आक्रमणको शृंखला बढ्दै गएकाले नेपाली प्रेस थप चुनौतीपूर्ण बन्दै गएको बताउँछन् ।

उनकाअनुसार प्रमुख राजनीतिक दलहरु प्रेस स्वतन्त्रताप्रति गम्भीर नबन्दा संविधानमा पूर्णप्रेस स्वतन्त्रता लेखिएपनि व्यवहारमा त्यो देखिएको छैन ।

‘धेरैजसो प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा राजनीतिक दलकै संलग्नता देखिन्छ । त्यसको अन्त्यका लागि हामीले मे ३ कै सन्दर्भ पारेर प्रमुख दलका शीर्ष नेतृत्वलाई ज्ञापनपत्रसमेत बुझाएका छौं’–उनले भने ।

इन्टरनेटको विस्तार बढेसँगै नेपालमा अनलाइन मिडियाको संख्या प्रेस काउन्सिलकाअनुसार गत चैतसम्ममा एक हजार ६०० पुगेको छ ।

तर, यो संख्या हेर्दा अनलाइन मिडियाको संख्या निकै बढी रहेको अनुमान गर्न सकिन्छ ।

अनलाइन मिडिया र सामाजिक सञ्जालको पहुँच भएसँगै जनताको अभिव्यक्ति स्वतन्त्रता प्रयोगमा उल्लेखनीय सहयोग भएपनि डिजिटल मिडियामाथि बढ्दो नियन्त्रणले भने चुनौतीपूर्ण वातावरण सिर्जना भएको छ ।

स्वतन्त्र प्रेसका लागि वातावरण तयार गर्न अभिव्यक्ति स्वतन्त्रताका सम्पूर्ण सरोकारवाला पक्षबीच सहकार्य बढाउनुपर्ने र नागरिक समाजको पहरेदारी पनि बढ्नुपर्ने, दन्डहीनताको अवस्था अन्त्यका लागि राज्यले शीघ्र पहल गर्नुपर्ने, संविधानले प्रस्तावनामा भनिएबमोजिम पूर्णप्रेस स्वतन्त्रताको सुनिश्चित कानुनबाट गर्न र व्यवहारमा पनि प्रेस स्वतन्त्रताको प्रत्याभूति दिनुपर्ने मुख्य दायित्व आजको यस दिवसले प्रदान गर्नुपर्ने नेपाल पत्रकार महासंघका पूर्वसभापति एवं फ्रिडम फोरमका प्रमुख कार्यकारी तारानाथ दाहाल बताउँछन् ।