देश बचाउन क्रान्तिकारी युवाहरु अगाडी आउ-अध्यक्ष किरण

700
views

इटहरी, ७, जेष्ठ । स्थानीय निकायको निर्वाचनकै मतगणना भैरहेका बेला नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले देशको रक्षाका लागि क्रान्तिकारी युवाहरु अगाडी बड्नुपर्ने बताएका छन् । क्रान्तिकारी युवा लिग सुनसरीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले स्थानीय तहको निर्वाचनबाट फेरि पनि देश दलालहरुकै हातमा गएको भन्दै देश बचाउनका लागि क्रान्तिकारी युवाहरु अगाडि बढ्नुपर्ने कुरामा जोड दिए ।
शनिबार आयोजित लिगको सम्मेलनमा प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष किरणले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरु निकै जटिल बनेर गएको भन्दै ती मुद्दाहरुको समाधान क्रान्तिकारी राजनीतिक शक्तिले मात्र दिन सक्ने भन्दै युवाहरुलाई नयाँ जनवादी क्रान्तिका अग्रसर भएर लाग्न आग्रह गरे ।
सुनसरीको इटहरीमा आयोजित सम्मेलनको अध्यक्षता पदम तामाङले गरेका थिए भने क्रान्तिकारी माओवादी तथा युवा लिगका नेताहरुको उपस्थिति रहेको उक्त भेलामा हजारौं युवाहरुको उपस्थिति रहेको थियो ।