अमेरिका र साउदी अरबकाबीच अहिलेसम्मकै ठूलो हतियार कारोबार सम्झौता

283
views

एजेन्सी, ७ जेष्ठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी अरब भ्रमणका क्रममा अहिलेसम्मकै सबैभन्दा ठूलो हतियार सम्झौता भएको छ । साउदी अरब र अमेरिकाबीच १ सय १० अरब डलरको हतियार सम्झौता भएको हो । ह्वाइट हाउसले साउदीसँगको हतियार सम्झौता अहिलेसम्मकै ठूलो भएको जनाएको छ ।
दुई मुलुकबीच हतियार सहित विभिन्न विषयमा ३ सय ५० अरब डलरको व्यापारिक सम्झौता समेत भएको छ ।
आठ दिन लामो विदेश भ्रमणमा निस्किएका ट्रम्प पहिलो भ्रमणका रुपमा साउदी पुगेका ट्रम्पलाई साउदी राजा सलमानले विमानस्थलमा स्वागत गरेका थिए भने साउदी अधिराज्यको सर्वोच्च नागरिक सम्मान समेत प्रदान गरेका थिए । मुस्लिम विरोधी छबीका अमेरिकी राष्ट्रपति रियादमा करिब ५० देशका मुस्लिम मुलुकका नेताहरु सहभागि हुने सम्मेलनलाई ट्रम्पले सम्बोधन गर्ने कार्यक्रम छ ।
सम्मेलनमा अतिवादी समूहहरुविरुद्ध लड्ने मुलुकको बाहुल्य रहने अनुमान गरिएको छ । आठ दिने विदेश भ्रमणका क्रममा ट्रम्प इजरायल, प्यालेस्टाइन, बेल्जियम, भ्याटिकन र सिसली पुग्ने कार्यक्रम रहेको छ ।
अमेरिकी विदेशमन्त्री रिक्स टिलरसनले साउदी अरबसँग भएको हतियार सम्झौतालाई इरानको दुष्प्रभावको जवाफ दिनका लागि भएको दाबी गरेका छन् । ओबामा कार्यकालमा इरान र अमेरिकाबीच सम्बन्धमा केही सुधार भएपनि पछिल्लो समयमा चिसिएको छ ।
रियादमा पत्रकारसँगको कुराकानीमा टिलरसनले भने, ‘रक्षा प्रणाली र सेवाको यो प्याकेजले साउदी अरब र सम्पूर्ण खाडीको दीर्घकालीन सुरक्षा मजबुत पार्नेछ ।’
ट्रम्पसँगै उनकी छोरी इभान्का र ज्वाई जेरेड कुशनर समेत साउदी भ्रमणमा छन् । बेलायती प्रधानमन्त्री थेरेसा मे र जर्मन चान्सलर एन्जेला मर्केलजस्तै इभान्का पनि टाउको नढाकी साउदी पुगेकी छन् । सन् २०१५ को जनवरीमा मिशेल ओबामा यसरी नै साउदी अरब पुग्दा ट्रम्पले आलोचना गरेका थिए ।