सुनदेखि जीरासम्म परनिर्भर पार्ने विरुद्ध कहिले उठ्ने ?

135
views

–परशुराम कोइराला,पोखरा
नाकाबन्दीका कारण पराइ हुँदैनन् । त्यसो त साम्राज्यले चुसेका र किनेका गिदीभित्र देश हुँदैन । भक्तिथापा, अमरसिंह, बलभद्र आदि पुर्खाहरुका छाति बेचेर सत्ता र पद हसुर्नेलाई बहुसंख्यक नेपालीहरुले बेलैमा चिन्न सकेका भए देशभक्तहरु पनि राजनीतिबाट लघारिन्नथे । सीमाहरु थुन्ने रोग नयाँ होइन । नाका थुन्ने, लम्पसार पार्ने र सम्झौताका नाममा प्राकृतिक स्रोत साधन, भूमि हडप्ने गरेका बलमिचाइ परम्परा १९५०का सन्धि यताकै निरन्तरता हुन् । कमजोर छिमेकी त्यसै अँठिन्छ । लासहरुमाथि गिद्देआँखा पर्छ निरन्तर । ठूला गिद्दहरुका काम साना गिद्दलाई ठुँग्ने नै हो ।

राजा वीरेन्द्रको शान्तिक्षेत्र प्रस्तावमाथि विश्वले समर्थन जनाउँदा हुन्न भन्ने छिमेकीका नियत सरकारमा जानेहरु सबैले नबुझेका थिएनन् ।

बहादुर पुर्खाका किँवदन्तीहरु यतिबेला नेपाली सत्ता सँस्कृतिबाटै थन्किएको स्थिति छ । राजा वीरेन्द्रको शान्तिक्षेत्र प्रस्तावमाथि विश्वले समर्थन जनाउँदा हुन्न भन्ने छिमेकीका नियत सरकारमा जानेहरु सबैले नबुझेका थिएनन् । देशभक्त र जनभक्तहरुलाई उठ्नै नदिएर आफ्ना कठपुतलीहरुलाई नेपाली सत्तासिन बनाउने र यथास्थिति मै रम्न लगाउने छिमेकी नियत पनि देखिएकै हो । गण्डकी, कोशी, महाकाली, कर्णालीदेखि सत्ताका अङ्गअङ्ग, नीति निर्माण तह, संस्कार संस्कृतिका तह हुँदै लोकतान्त्रिक गणतन्त्रका चरणसम्म भारतीय विस्तारवादकै आदेश, इच्छा, दानापानी, निगाहमा नेपाली शासकीय निरीहता देखिएकै हो । कुर्सी र सत्ताकै खेलमा यो निरन्तर छ ।

सिँह र स्याल तुलना हुँदैनन् । सुन्दर फूलमाथि आँखा कसका नलाग्ने ? ०४६ यता देशले धेरै गुमायो । कमजोर र लम्पसार स्याल प्रवृत्तिले पनि परनिर्भरता हावी हुन गयो । चोक्टाका लोभले झोल पनि हात नपर्ने स्थिति बन्दै गयो फेरि । राष्ट्रिय स्वाधीनतामाथि सङ्कट निरन्तर छ ।

आफ्ना मूल, कुवा, थाँतथलोका अधिकार संरक्षण गर्न नसक्नेले पनि आज पहिचानका कुरा उठाएको छ । अरुकै निर्देशन र निगाहमा चल्ने उच्चस्तरीय राज्यसँयन्त्रदेखि तलसम्मका निकाय र व्यक्ति चोक्टाकै निम्ति सिनो हुँदैछ । खासादेखि पेकिङसम्मका, बङ्गलादेशदेखि बिहारसम्मका लसुन, प्याज, आलु, धनिया…, राँगा, भैंसी, खसीबोका, कुखुरा, नानाचाचा, गासदेखि साससम्मका पराधीनमुखी चिन्तनमाथि नाकाबन्दी नलागे देश बन्दैन ।

असक्षम र अयोग्य नेपाली शासकहरुका असक्षमताकै उपहार बनेका बिगतका नाकाबन्दीहरुले इन्धन, नुनदेखि सुन, तिउनदेखि विदेशीका पियन हली, दाता–मतदातासम्मलाई के सिकायो ?

असक्षम र अयोग्य नेपाली शासकहरुका असक्षमताकै उपहार बनेका बिगतका नाकाबन्दीहरुले इन्धन, नुनदेखि सुन, तिउनदेखि विदेशीका पियन हली, दाता–मतदातासम्मलाई के सिकायो ? विस्तारवादी गोठालाहरुका परिणाम आलु, गोलभेँडा, खुर्सानीमा समेत देश आत्मनिर्भर छैन ।

वैज्ञानिक, इन्जिनियर, कृषि प्राविधिक र वौद्धिकहरुलाई समेत भरपूर उपयोग गर्न अहिलेको लोकतान्त्रिक भनिने जमातबाट सम्भव देखिएन । न कृषिक्षेत्रमा नयाँ सोंच, न उद्योग आदिमा । वेरोजगार उत्पादन अझै उस्तै छ । शिक्षामाथि विभेद छ । स्वास्थ्य क्षेत्र पहुँचवालाकै । सुकुम्बासीका झुप्रा, वस्तीहरु भत्काउने डढाउनेलाई कम्युनिस्ट देख्ने जनमतलाई जननी जन्मभूमिश्च…का अर्थ बोध हुँदो रहेनछ । आदर्शच्युत, परनिर्भर र विदेशनिर्देशित व्यवहार सँस्कृतिलाई च्युत गर्न र राष्ट्रिय हितमा बहुमुल्य खानीहरुका उत्खनन् र प्रयोगनिम्ति पनि लामो नाकाबन्दी फेरि चाहिन्छ ।

टिष्टा– काङ्गडाका मृत इतिहासहरुले सगरमाथाका वैशालु बर्तमानका आकाँक्षलाई हिजो पनि बुझ्दैनथे । गुराँस, मखमली र प्रयाप्त स्रोतसाधनहरु सिउँदोभरि सिउरेर पनि निन्द्राविहीन रात बोकेर मेचीकाली छटपटिएको छ । हाम्री आमाका छातिहरुका पीडा छिमेकीहरु हिजो पनि बुझ्दैनथे । आफ्नै पौरख, पसिनाका समृद्धिका लागि पनि नाकाबन्दी फेरि चाहिन्छ ।

पदप्रतिष्ठाले आर्जेका धनसम्पत्तिमा इज्जत कहाँ छ ? राष्ट्रिय उत्तरदायित्वबोध नहुनेका दलाल राजनीतिलाई नाङ्गै पार्न पनि नाकाबन्दीका बिकल्प छैन अर्को । ताकपरे तिवारी, नत्र गोतामेपन हट्नै छ । बर्सेनी मुङ्लान् छिर्नेका विवशता, वाध्यता र सबैखाले परनिर्भरतालाई मेट्न पनि आवश्यक छ यो । राज्य अङ्गलाई सक्षम पार्न र उत्पादनमुखी अभियानमा जोडन पनि अर्को नाकाबन्दी चाहिन्छ । आयातीत विकासले देश उठेको कतै मानिन्न । जनकाँक्षा र सत्ताका दुरी टाढिएको छ । विदेशीकै चाटुकारहरुले राणा, राजा, वहुदल, लोकतान्त्रिक गणतन्त्र आदि रोपे । तर पनि फेरिएन । उस्तै छ । व्यक्ति फेरिएर सत्ता मेकानिज्म नफेरिने व्यवस्था आमजनता र राष्टहितमा हुनै सक्दैन ।

जनआकाँक्षा र राष्ट्रहीत विरोधीका गठबन्धन क्रममै सिके राउतसम्मका सत्तासहभागिताका सन्दर्भ देशलाई सिक्किम बनाउने रणनीति अन्तर्गतको एउटा पाटो देखिन्छ । पहिलो संविधान सभा निर्वाचनको परिणामबाटै सिक्किम बन्ने योजनामा थियोे देश ।

जनआकाँक्षा र राष्ट्रहीत विरोधीका गठबन्धन क्रममै सिके राउतसम्मका सत्तासहभागिताका सन्दर्भ देशलाई सिक्किम बनाउने रणनीति अन्तर्गतको एउटा पाटो देखिन्छ । पहिलो संविधान सभा निर्वाचनको परिणामबाटै सिक्किम बन्ने योजनामा थियोे देश । ठूला दलबीचमै आन्तरिक कुरा नमिलेर रोकिएको छ । ०६३ को नागरिकता ऐनले थुप्रै भारतीयलाई प्रवेश गरायो । ०७५को नागरिकता विधेयकबाट लाखौँ छिराउँछ । हिजोको अर्धऔपनिवेसिक राज्यलाई पूर्ण औपनिवेसिक बनाउन उद्धत हुनेहरुका पर्दाफास गर्न हाम्रो भूगोल, जल, खनिज, वन, राजनीति, अर्थनीति, व्यापार, उद्योग, स्वाधीनता, वीरत्व आदि जगेर्नागर्न पनि नाकाबन्दी शिक्षा हुनेछ ।

चीनप्रतिका अमेरिकी चासो, नेपालको पहाडलाई प्रयोगभूमि बनाउने उसका दाउ, अमेरिकी र भारतीय सल्लाहमा तराइलाई भारतमा गाभ्ने इन्दिरा गान्धीकै पालादेखिका सपनालाई रोक्न र नेपालीहरुवीचका बलियो एकताका लागि पनि नेपालमा नाकाबन्दी आवश्यक छ ।

शास्त्र उतैका, तन्त्रमन्त्र, मुर्ति मन्दिर, पुजारी उतैका, सरकार प्रमुख, मन्त्री, साँसद, सेना, पुलिसका हाकिम उतैका, कर्मचारीतन्त्र प्रमुख उतैका, बाँझा यताका, बीउबिजन, मल, औजार उतैका, सियो धागो, टाँक, साइकल, मोटर, नुनदेखि तेल, मासु, अण्डा, तरकारी सबै उतैका । ढुङ्गा, बालुवा, माटो यताका, अधिकारकर्मी, कामदार, रड, किल्ला सिमेन्ट सबै उतैका । देशभक्तहरुले रोक्नुपर्छ यो । आँखामा फुलो र धुलो परेका नीतिनिर्माता, राजनीतिज्ञ, वुद्धिजीवीले बेलामै आँखा देख्दिएका भए बेलाबखतका नाकाबन्दीले नाप्थ्यो के ? सुनदेखि जीरासम्ममा परनिर्भर पार्ने विरुद्ध अझै नउठ्ने ?