उद्यमको बाटो खोज्दै युवा

847
views

निर्मल पौडेल
पर्वत । पछिल्लो समय व्यवसायिक कृषि, पशुपालन र उद्यममा लाग्ने युवाहरुको सङ्ख्या बढ्दै गएको छ । वैदेशिक रोजगारीबाट फर्किएपछि अधिकांश युवाले गाउँघरमै पौरख गर्न थालेका छन् ।

पर्वतमा पनि युवाहरु व्यवसायमा लागिरहेका छन् । तिनैमध्येको एक हुनुहुन्छ, पर्वत महाशिलाका दिपेन्द्र जैसी । जैसी केहिवर्ष अघिसम्म खाँडी मुलुकमा हुनुहुन्थ्यो ।

१० वर्ष अर्काको देशमा पसिना बगाएपछि उहाँ आफ्नै गाउँ फर्कनुभयो । अहिले उहाँले वेकरी र चाउमिन उद्योग सञ्चालन गर्नुभएको छ । उद्योगबाट खर्च कटाएर मासिक ५० हजारसम्म आम्दानी हुन्छ । उहाँले केही रकम बचत पनि गर्नुभएको छ ।

जैशी भन्नुहुन्छ, ‘विदेशमा गएर ५० डिग्रीको घाममा काम गर्नुभन्दा आफ्नै गाउँमा केही गरेंभने हुन्छ भन्ने लागेर फर्किएको हुँ । मैले आफूसँगै अरु युवालाई पनि रोजगारी दिएको छु, उहाँहरुको परिवार पनि खुशी हुनुहुन्छ ।’

१० लाख लगानीमा शुरु गरिएको उद्योगमा ५ जनाले रोजगारी समेत पाएका छन् । गाउँमै उत्पादित चाउमिन र पाउरोटी स्थानीय लुङ्खु देउराली बजार, पर्वतको दक्षिण हुवास बजार र स्याङ्जाको घण्टे देउराली बजारमा खपत हुने गरेको छ ।

लगानी गर्ने आँट र काम गर्ने जाँगर भएकालाई देशमै अवसर रहेको जैशी बताउनुहुन्छ । जैशी अगाडी भन्नुहुन्छ, ‘विदेश गएर पनि कहिले समयमा तलब पाइदैन, दुईतिन महिनासम्म तलब नपाउँदा माग्यो भने कुकुरको जस्तो व्यवहार गर्छन् त्यहाँका मान्छेले । सुख छैन विदेशमा पनि । गर्न जानियो भने आफ्नै गाउँमा पनि हुने रहेछ ।’

युवालाई स्वरोजगार बनाउन र देशलाई समृद्ध बनाउन राज्यले युवा लक्षित थुप्रै कार्यक्रम बनाएको छ । संघ, प्रदेश र स्थानीय सरकारले युवाका लागि विभिन्न सीपमूलक तालिम र सहुलियत ऋण अनुदानसम्मको व्यवस्था गरेका छन् । महाशिला गाउँपालिकाका प्रवक्ता समेत रहनुभएका वडा नम्बर ५ का अध्यक्ष जीवन उच्चै ठकुरी वैदेशिक रोजगारीबाट फर्किएका युवालाई घरमै गएर भेटेर गाउँको सम्भावित पेशा व्यवसायका विषयमा छलफल गर्ने गरेको बताउनुहुन्छ ।

युवालाई स्थानीय सरकारले के रोजगारी सृजना गर्न सक्छ भनेर सरसल्लाह समेत गर्ने गरेको उहाँ बताउनुहुन्छ । आफ्नै गाउँमा गरेको मिहेनतबाट वैदेशिक रोजगारीमा भन्दा धेरै सन्तुष्टि मिल्ने उद्यमी युवाहरुको भनाई छ ।