सेनामा रहेर निर्णायक हुनु फलामको च्युरा चपाउनु हो

2105
views

तेकवान्दो खेलबाट अन्तराष्ट्रिय निर्णयक बन्न सफल खेलाडी दिपेन्द्र ढकाल तेक्वान्दो डोजाङ कुशादेवीबाट तेक्वान्दो खेल जीवन सुरु गरी २०६७ देखि आर्मी क्लवमा प्रवेश गरेका हुन् । नेपाली सेनाभित्र रहेर निर्णायक बन्नु भनेको फलामको च्युरा चपाउनु जस्तै थियो तर उनले त्यो चिउरा सहजै चपाए भन्दा फरक पर्दैन । कडा मेहनत र दृढ आत्मविश्वास नै उनको सफलताको स्रोत हो । काभ्रेको साविक कुशादेवी गा.वि.स. वडा नं. २, हाल पनौती न.पा. वडा नं. ३ का दिपेन्द्र ढकाल तेक्वान्दोका अन्तराष्ट्रिय प्रशिक्षक हुन् । २०४५ सालमा बुबा पुष्कर ढकाल र आमा सीता ढकालको कोखबाट जन्मिएका दिपेन्द्र ढकालसँग नवदृष्टि डटकमले गरेको कुराकानी ।

-कसरी भयो तपाईको खेल जीवनको सुरुवात ?

मेरो बाल्यकाल सामान्यतया सुखमय नै थियो । घरमा खेतीपाती प्रशस्तै हुन्थ्यो । बुवाले व्यापार पनि गर्नुहुन्थ्यो । बुवाको र आमाको संघर्षका कारण हाम्रो बाल्यकाल सुखमय नै वितेको थियो । पछि बाल्यकालदेखि नै भनौं या सानो छँदा देखि नै भनौं खेलप्रति एकदमै रुची थियो । मेरो खेलप्रतिको रुचि देखेर नै म सानो छँदा बुवा र आमाले तेक्वान्दो खेल्न आग्रह गर्नुभयो । बुवा– आमाको ईच्छा नै त्यो भईसकेपछि मलाई घर नजिकैको तेक्वान्दो डोजाङमा २०५७ सालमा भर्ना गरिदिनुभयो । पढाईलाई पनि सँगै निरन्तरता दिनुपर्ने भएकोले केही अप्ठारो महसुस पनि हुने गर्दथ्यो तर त्यसलाई सहज ढंगले अगाडि बढाउने दृढ विश्वासका साथ तेक्वान्दोमा निरन्तरता दिएँ । लालीगुराँस तेक्वान्दो डोजाङबाट तेक्वान्दो खेल शुरु गरको हुँ । मलाई ब्ल्याक बेल्ट लिन भने पनौती तेक्वान्दो डोजाङमा जानुपर्ने भएकोले अझ थप संघर्ष गर्नुप¥यो । तर त्यसमा म सफल बने ।

कत्तिको कठिन रहेछ प्रशिक्षक बन्न ?

धेरैले खेल बुझेका हुन्छन् तर खेलको नियम बुझेका हुँदैनन् । खेलको नियम बुझ्ने र खेल बुझ्नेलाई थाहा हुन्छ प्रशिक्षकको महत्व । अझ तेक्वान्दो खेलका खेलाडी÷प्रशिक्षक सबैभन्दा विश्वासिलो र आर्दश व्यक्ति मात्रै हुन्छन् । तेक्वान्दो खेलमा खेलाडी बन्नुभन्दा प्रशिक्षक बन्नु सबैभन्दा गाह्रो कुरा हो । प्रशिक्षक बन्नको लागि निरन्तर साधनको जरुरत पर्दछ । जब एउटा प्रशिक्षक बन्छ । उसलाई प्रशिक्षक बन्नेको भन्दा हजारौं गुणा धेरै साधना मिहेनत कर्तव्य पालना गर्नुपर्छ निर्णायक बन्नको लागि । अझ नेपाली सेनाभित्र रहेर निर्णायक बन्नु भनेको फलामको च्युरा चपाउनु जस्तै हो । तर फलामको च्युरा समेत चपाएर आफूलाई नेपाली सेनाकै पहिलो अन्तराष्ट्रिय तेक्वान्दो निर्णायक बनाउन सफल भएँ ।

चीनबाट अन्तराष्ट्रिय निर्णायक बन्नुभयो नि ?

२०५७ सालमा लालीगुराँस तेक्वान्दो डोजाङ कुशादेवीबाट तेक्वान्दो खेल जीवन सुरु गरी २०६७ देखि आर्मी क्लवमा प्रवेश गरेको थिएँ । नेपाली सेनामा प्रवेश गरेसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागीता जनाउने अवसर मिल्यो । त्यही अवसर जस्ले उपाधीको दावेदार समेत बनायो । २०७१ देखि विभिन्न प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गरि हालसम्म दर्जनौं बढी राष्ट्रिय खेल सञ्चालन पनि गर्दै आएको छु । मेरो अथक प्रयास नै अन्तराष्ट्रिय निर्णायकको सफलता हो । चिनमा पुगेर निर्णायक बनें । चीनको धगहष शहरमा २० जुलाई २०१८ देखि २३ जुलाई २०१८ सम्म भएको तेक्वान्दो खेलको अन्र्तराष्ट्रिय निर्णायक सेमिनारमा सहभागी भई उत्तिर्ण हुन सफल भए । नेपाली सेनाबाट ३६ बर्षपछि तेक्वान्दो खेलको एकमात्र अन्र्तराष्ट्रिय निर्णायक बन्न सफल भएको छु । सेमिनारमा नेपालबाट ६ जना सहभागी थियौं ।

सफलता चुमेका खेलाडीहरु निकै घमण्डी हुन्छन् भन्छन नि ?

म खेलाडी, प्रशिक्षक र निर्णायक सबै हो । म सरल छु । मिलनसार छु । कम बोल्छु, अलिक रिजर्भ बन्न मन पराउँछु । धेरै बोलीराख्नै मन लाग्दैन । मन मिल्ने साथीहरुसँग मात्रै धेरै क्लोज हुन्छु । म धेरै नबोल्ने भएकोले कतिपयले घमण्डी समेत भन्ने गरेका छन् । तर त्यस्तो होइन । कुनैपनि काममा हात हालेपछि त्यो काम सफल बनाएरै छाड्ने मेरो स्वभाव छ । राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलमा सहभागिता जनाउँछु भनेको थिएँ त्यो पुरा गरेँ र पछिल्लो समय तेक्वान्दोको राष्ट्रिय निर्णायक हुँदै अन्तराष्ट्रिय निर्णायक सम्म बन्न सफल भएँ । म कम बोल्छु तर घमण्डी भने पक्कै छैन ।

तपाईको सफलता पछाडिको मुख्य श्रेय कस्लाई दिनुहुन्छ ?

करिब दुई दर्जनभन्दा बढी राष्ट्रिय खेलहरुमा निर्णायकको भूमिका निर्वाह गरिसकेपछि अग्रज गुरुहरुको प्रेरणा हौसला र मेरो हरेक अभियानहरुमा सफल र सबल बनाइदिनुहुने सम्पूर्ण गुरुवर्गहरु, सहयात्री मित्रहरु, आफन्तजनहरु, मेरो जन्मदाता आमा बुवा, मेरो खुट्टा समातेर तेक्वान्दो खेल सिकाउनुहुने आदरणीय गुरु बिनोद थापा, रामचन्द्र कर्माचार्य गुरु र अन्तराष्ट्रिय क्षेत्रमा प्रवेश गर्न हौसला दिने मेरा सम्पूर्ण अग्रज गुरुहरु तथा नेपाल आर्मीक्लव, नेपाल तेक्वान्दो संघ तथा मेरो कडा मेहनत र दृढ आत्मविश्वास नै मेरो सफलताको स्रोत हो ।
खेल जीवन मोडिने त होईन नि ?

मेरो सानैदेखिको रुचि भनेकै तेकवान्दोको हो र सफलता पनि तेकवान्दोबाट नै मिलेको छ । मेरो जीवनभर तेक्वान्दामा नै लाग्ने लक्ष्य छ । त्यसका लागि सैनिक स्कूल भक्तपुरमा नियमित रुपमा तेक्वान्दो प्रशिक्षण गराउँदै आइरहेको छु । त्यसैगरी निकट भविष्यमा आफू जन्मेको ठाउँमा तेक्वान्दो खेलको पूर्ण जानकारी दिनको निमित्त तेक्वान्दो एकेडेमी सञ्चालनमा ल्याउने तयारी गरिरहेको छु । तेक्वान्दो मोडेर अरु रोज्दिन ।

खेल र स्वास्थ्यप्रति तपाईको दृष्टिकोण के छ ?

मैले तेक्वान्दोमा चौंथो डान प्राप्त गरेको छु । हाल सैनिक स्कुल भक्तपुरमा तेक्वान्दो प्रशिक्षण गराउदै आएको छु । अब अन्तराष्ट्रिय स्तरमा हुने विभिन्न प्रतियोगितामा निणायकको भुमिका निर्वाह गर्न पाउँने अवसर मिलेको छ । जीवनभर तेक्वान्दोमा लाग्ने लक्ष्यकासाथ सैनिक स्कूल भक्तपुरमा नियमित तेक्वान्दो प्रशिक्षण गराइरहेको छु । म अन्तराष्ट्रिय निर्णायक मात्र नभई म एक तेक्वान्दो प्रशिक्षक पनि हुँ । म प्रशिक्षक भएकोले पहिला आफैं फिट हुन जरुरी छ । त्यसैले आफू पहिला फिट भएपछि मात्र खेलाडिहरुलाई प्रशिक्षण दिन सकिन्छ । त्यसैले आफ्नो स्वास्थ्य प्रति सचेत हुन्छु । दैनिक रुपमा खेलाडीहरुलाई प्रशिक्षण गराउनुपर्ने भएकोले व्यक्तिगत व्यायाम पनि हुन्छ, स्वस्थ्य छु ।

अन्त्यमा, भन्नूपर्ने केही छुटेजस्तो लाग्यो कि  ?

पहिले त आवाजविहिनहरुको आवाजको बोल्ने नवदृष्टि डटकम परिवारलाई आफ्ना भनाई, अनुभुति र सफलताको विषयमा राख्ने अवसर दिनुभएकोमा धन्यवाद दिन चाहान्छु । खेल जीवन नै राष्ट्रको गहना हो । खेलले राष्ट्रलाई चिनाउन्दछ । हाम्रोजस्तो देशमा खेल क्षेत्र र खेलाडीहरुका लागि अन्य मुलुकमा जस्तै खासै लगानी छैन भन्दा हुन्छ । राज्यको लगानी अब खेल क्षेत्रमा हुनुपर्दछ । विश्वमा चिनाउने खेल क्षेत्रलाई राज्यले राम्रोसँग संबोधन गर्न सक्यो भने देशको पहिचान पनि विश्वमा हुन्छ । मेरो सफलतामा सहयोगी सबैसबैमा आभार व्यक्त एवं अग्रजहरुप्रति नमन ।