इस्लामिक स्टेटद्वारा ‘प्रान्त निर्माण’ गरेको दाबी

680
views

काठमाडौं । अमेरिका र उसका सहयोगी देशहरुले आतंकवादी सूचीमा राखेका इस्लामिक स्टेट (आईएस) ले भारतमा आफ्नो प्रान्तीय कार्यालय खोलेर गतिविधि गरिरहेको घोषणा गरेको छ । श्रीलंकामा श्रृंखलाबद्ध बम बिष्फोटनपछि उक्त घटना आफूहरुले गराएको भनी आइएस्ले लिएको जिम्मेवारीमाथि पूर्ण विश्वास नरहेका बेला आईएस्को यो भनाई सार्वजनिक भएको हो ।

आईएस्को भनाइअनुसार उसले भारतीय भूमिलाई समेटेर नयाँ विलाया अर्थात् प्रान्तको समेत घोषणा गरेको खुलासा समेत् गरेको छ । इस्लामिक स्टेटसँग आवद्ध मानिएको समाचार संस्था अमाकमार्फत् जारी गरिएको विज्ञप्तिमा भारतीय भूमिलाई नयाँ विलाया अल हिन्द अर्थात् भारतीय प्रान्तको संज्ञा दिइएको छ ।

यति मात्र होइन, इस्लामिक स्टेटले भारत प्रशासित कश्मीरमा आफूहरुले प्रतिरोध संघर्षलाई अघि बढाएको पनि बताएको छ । बिलाया अल हिन्दले अहिले कश्मीरको सोपियान जिल्लामा रहेको अम्सिपोरा क्षेत्रमा भारतीय सुरक्षा बलमाथि धावा बोलिरहेको पनि जनाएको छ । उसका अनुसार विलाया अल हिन्दमा स्टेटका लडाकूहरुले भारतीय सुरक्षा बलमाथि क्षति पुर्याउन सफल भएको पनि दाबी गरिरहहेको छ ।

यस अघि इस्लामिक स्टेटले सिरिया र इराकसहित उत्तर अफ्रिका, इजिप्ट, लिबिया, नाइजेरिया, यमन, अफगानिस्तान र पाकिस्तान तथा विश्वका अन्य क्षेत्रलाई समेटेर विलायाको घोषणा गरिसकेको थियो । पछिल्लो समयमा आएर इस्लामिक स्टेटले भारतीय भूमिलाई समेटेर बिलया वा ‘प्रान्त’ घोषणा गर्नपुगेको छ ।

अमेरिकी लगयतका उसका सहयोगी देशहरुले सिरिया र इराकमा इस्लामिक स्टेट निकै कमजोर बताइरहेका बेला स्टेटले भिने विश्वका विभिन्न नयाँनयाँ ठाउँहरुमा आफ्नो बिलया बिस्तार भइरहेको सन्देश दिन खोजेको छ । भारतमा हालै मात्र बिलया बनाएको घोषणा गर्नु उसको प्रभाव देखाउनका लागि हो भनी अनुमान गरिएको छ ।

यसका बारेमा भारतीय प्रशासनले भने अहिलेसम्म मुख खोलेको छैन । साथै, दिल्लीको धारणा पनि सार्वजनिक गरिएको छैन ।