पाँच वाम पार्टीद्वारा काउन्सील विधेयकको विरोध

563
views

काठमाडौं । पाँच बाम पार्टीले सञ्चार माध्यमलाई नियन्त्रण गर्ने र सञ्चार क्षेत्रलाई कमजोर तुल्याउने गरी सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सील सम्बन्धी विधेयकको घोर विरोध एवम् भत्र्सना गरेका छन् ।

सोमबार नेकपा (क्रान्तिकारी माओवादी) को कार्यालय बुद्धनगरमा बसेको पाँच वाम पार्टीहरु नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा र देशभक्त जनगणतान्त्रिक मोर्चाको संयुक्त बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न जारी गरिएको प्रेस विज्ञप्तिमा विधेयकको तीव्र विरोध एवम् भत्र्सना गरिएको छ र जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाइएको छ ।

पाँच वाम पार्टीहरुको तर्फबाट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले बैठकले गरेका ४ बुँदे निर्णयहरु सार्वजनिक गर्न जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “नेपाली सञ्चार जगतले ब्याप्त भ्रष्टाचार, कमिशनखोरी, कालोबजारी, असुरक्षा, नागरिकता समस्या, पार्टीमाथिको प्रतिबन्ध लगायतका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दालाई उजागर गरिरहेको बेला सरकारले सञ्चार माध्यममाथि नियन्त्रण गर्ने र सञ्चार क्षेत्रलाई कमजोर तुल्याउने किसिमले संसदमा जुन विधेयक प्रस्तुत गरेको छ त्यसको घोर निन्दा र भत्र्सना गर्दै बैठकले सञ्चारजगत बिरोधी यो बिधेयक तत्काल फिर्ता लिन जोडदार माग गरेको छ र सञ्चार जगतको आन्दोलनप्रति ऐक्यबद्धता जनाउदै आन्दोलनलाई अझ सशक्त तुल्याउन जोडदार आग्रह गरेको छ ।

बैठकले पाँच बाम पार्टीले यही बैशाख २७ गते शान्तिबाटिकामा आयोजना गरेको बिरोध सभालाई सफल तुल्याउन उपस्थित जन समुदायलाई धन्यबाद दिदै आगामी दिनका आन्दोलनमा अझ बढी सक्रियताकासाथ सहभागी र उपस्थित भएर भ्रष्टाचार, जनघात,राष्ट्रघात र फासीबादका बिरुद्धको आन्दोलनलाई सफल बनाउन आह्वान गरेको छ ।

बैठकले नागरिकताको समस्या, अजंगका भ्रष्टाचार, पार्टीमाथिको प्रतिबन्ध, लगायत राष्ट्रघात, जनघात र जनजीविकाका समस्यालाई लिएर आन्दोलनलाई थप अघि बढाउने सन्दर्भमा आउदो जेष्ठ ८ गते शान्तिबाटिकामा बृहत खुल्ला अन्तरक्रिया कार्यक्रम राख्ने निर्णय लिएको । यसमा सञ्चारकर्मी, नागरिकता बिशेषज्ञ, जलश्रोत बिशोषज्ञ, सीमाबिद, परराष्ट्रविद् कानुनबिद् लगायत नागरिक समजका प्रतिष्ठित ब्यक्तिहरुलाई निमन्त्रणा गर्ने निर्णय लिएको छ ।

बैठकले आन्दोलनका आगामी थप कार्यक्रम त्यही खुला र बृहत अन्तक्रियामा नै प्रस्तुत गर्ने समेत निर्णय लिएको छ । यस सम्बन्धी कार्यक्रमलाई अन्तिम रुप दिन आगामी जेष्ठ ४ गते पाँच पार्टीको पुनः बैठक बस्ने भएको छ ।”