फलेवास नगरयोजनामा बालश्रमिक प्रयोग

1120
views

नवदृष्टि डेष्क । फलेवास नगरपालिकाको नगरयोजनामा बालश्रमिक प्रयोग भएका छन् । चितवन ईच्छाकामना गाउँपालिका काउले घर बताउने समिर प्रजा (चेपाङ) र विनय आले दुई बालक नगरयोजना अन्र्तगतको सडक निर्माणमा प्रयोग भएका हुन् ।

विद्यालय पढ्ने उमेरका बालकहरु ढुङ्गा बोकेर ग्याभिन भरिरहँदा नगरप्रमुख भने मौन छन् । बाल श्रमिकले काम गरिरहेकै सडकबाट ६० लाखको गाडीमा हुईकिरहने नगरप्रमुख पदमपाणी शर्माको नजर ति श्रमिकमा परेको छैन् ।

नगरपालिकाको गेट जाने सडकमा ठूलाठूला ढुङ्गा बोकेर ग्याभिन भरिरहेका १६ वर्ष मुनिका ति बालकहरुले दिनभर श्रम गरेर सातसय रुपैयाँ ज्याला पाउने बताउँछन् ।

आर्थिक अभावकै कारण पठनपाठन गर्न नसकेका ति बालकहरुलाई सरकारी विद्यालय भर्ना अभियानले समेत छोएको छैन् । विद्यार्थी खोज्दै हिँड्ने सरकारी विद्यालयले सडकमा प्रयोग भइरहेका बालश्रमिकलाई देखेको पाईदैन् ।

आर्थिक अभाव र अभिभावकविहिन भएका कारण खान लाउनकै निमित्त सडकमा काम गर्न आएको सोही सडकमा काम गर्ने मजदुर दिपक रानामगरले बताएका छन् ।

खान र कमाउनका लागि सडकमा ज्याला मजदुरी गर्न आएका ति बालकहरुको सपना ढुङ्गा माटोमा विलिन भएको भन्दै सोही नगरपालिका वडा नं १ का अध्यक्ष बाबुराम शर्माले नगरपालिकाभित्रै बालश्रमिक प्रयोग हुँदा नगरपालिका मौन बस्न नहुने बताउँछन् ।

नगरपालिकाले उनीहरुका आफन्त खोजेर जिम्मा लगाउनुपर्ने बताउँदै वडाअध्यक्ष शर्माले भने ‘अभिभावक फेला नपरे नगपालिकाले नै उनीहरुको जीविकोपार्जन तथा पठनपाठनको व्यवस्था गर्नुपर्दछ ।’

बालकलाई गैरकानुनी रुपमा सडकमा काम गराउँदा समेत सम्बन्धित निकाय मौन बसेको छ । नगरभित्रको उक्त योजना ठेकेदारलाई जिम्मा लगाएको तर ठेकेदारले बालश्रमिक प्रयोग गरेको पाइएको प्रमुख प्रशासकीय अधिकृत मोती सापकोटाले बताएका छन् ।