सुडान सङ्कटः प्रदर्शनकारीविरुद्ध हिंसात्मक भएको भन्दै सेनाको निन्दा

455
views

सुडानको राजधानी खार्तुममा प्रदर्शनकारीहरूमाथि भएको हिंसात्मक हमलालाई लिएर त्यहाँको सेनाको निन्दा भएको छ । त्यहाँ भएको हिंसात्मक हमलाका क्रममा ३० जनाको ज्यान गएको खबर आएको थियो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले अधिकारीहरूले अस्पतालमा पनि गोली चलाएको भन्ने खबरहरूबाट आफू सचेत भएको भन्दै एउटा स्वतन्त्र अनुसन्धानका लागि आह्वान गरेका छन् ।

सुडानमा भएको उक्त हमलालाई अमेरिकाले अमानवीय भनेको छ भने ब्रिटेनले त्यसलाई क्रुर भनेको छ । अफ्रिकी सङ्घले पनि उक्त घटनाको निन्दा गर्दै तत्काल पारदर्शी अनुसन्धान थाल्न आह्वान गरेको छ ।

गत एप्रिलमा कु मार्फत् राष्ट्रपति ओमार अल–बसिर सत्ताच्यूत भएपछि सुडानमा त्यहाँको सैन्य परिषद्ले सत्ता चलाइरहेको छ । देश गैरसैनिकले चलाउनुपर्ने माग गर्दै आएका प्रजातान्त्रिक आन्दोलनका नेताहरूले आफूहरूले ट्रान्जिसनल मिलिटरी काउन्सिल भनिने सैन्य परिषद्सँगको सबै सम्पर्कहरू तोडेर आमहड्ताल आह्वान गरेको बताएका छन् ।

सोमवार बिहानै सुरक्षा सेवाका कर्मचारीहरू मुख्य प्रदर्शन क्षेत्रमा गएको बताउँदै अधिकारकर्मीहरूले भिडिओ सामाग्रीहरूमा भारी गोलाबारी चलेको सुनिएको बताए ।

सरकारी टेलिभिजनमा बाचन गरिएको एक विज्ञप्तिमा सैन्य परिषद्ले घटना जसरी तीब्र रुपमा अघि बढ्यो त्यसप्रति आफूलाई दुख लागेको बताएको छ। उसले बाधा र्पुयाउनेहरू र अपराधीहरूमात्रै आफ्नो निसानामा रहेको जनाएको छ ।

आफ्नो विज्ञप्तिमा सैन्य परिषद्ले आफूहरू सर्वसाधारणको रक्षाका लागि समर्पित रहेको पनि जनाएको छ ।

अस्पतालमै गोलाबारी
यसअघि अधिकारकर्मीहरूले सुरक्षा फौजले खार्तुमस्थित एउटा अस्पताल घेरेर अर्कोमा गोली चलाएको बताएका छन् । प्रदर्शनकारीहरूसँग निकट रहेका सुडानको डाक्टरहरूको केन्द्रिय समितिले एकजना ८ वर्षीय बालकसहित ३० जनाको ज्यान गएको जनाएको छ। हताहतीको पूर्ण विवरण आइनसकेको भन्दै उसले मारिनेको सङ्ख्या बढ्न सक्ने पनि जनाएको छ ।

उक्त गोलाबारीमा सयौं मानिसहरू घाइते भएको बताइएको छ । जर्मनी र ब्रिटेनको अनुरोधमा यसै विषयमा मंगलवार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को गोप्य बैठक हुने भएको छ । बीबीसीबाट