विश्वकप क्रिकेटः पाकिस्तानसँग इंग्ल्यान्ड पराजित

655
views

काठमाडौं, २१ जेठ । विश्वकप क्रिकेटमा पाकिस्तानसँग घरेलु टोली इंग्ल्यान्डलाई पराजित भयो । सोमबार राति भएको खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई १४ रनले पराजित गरेको हो ।

३४९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३३४ रन मात्रै बनायो । इंग्ल्यान्डले हारे पनि दुई खेलाडी जोइ रुटले १०४ बलमा १०७ रन बनाए । उनले १० चौका र १ छक्का प्रहार गरे । त्यस्तै, जोस बुटलरले १०३ रन बनाए ।

७६ बलको सामना गर्दै ९ चौका र दुई छक्का प्रहार गरेका बुटलरले उत्कृष्ट प्रदर्शन गरे पनि आफ्नो टिमलाई जिताउन सकेनन् । रुट र बुटलरले १३० रनको साझेदारी गर्दै जिततर्फ लगेका थिए ।

पाकिस्तानका लागि वाहब रियाजले तीन र मोहम्मद अमिर शादब खानले समान २–२ विकेट लिए । ट्रेन्ट ब्रिजमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३४८ रन बनाएपछि इंग्ल्यान्डले ठूलो लक्ष्य पाएको हो ।

पाकिस्तानका लागि मोहम्मद हफिजले ८४ रन बनाए । ६२ बलको सामना गरेको उनले ८ चौका र दुई छक्का प्रहार गरेका थिए । त्यस्तै, बाबर अजामले ६३, कप्तान सर्फराज अहमदले ५५, इमाम उल हकले ४४ र फखर जमानले ३६ रन बनाए ।

पाकिस्तानका लागि फखर जमान र इमाम उल हकले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । त्यस्तै, हफिज र बाबरले तेस्रो विकेटको लागि ८८ रनको साझेदारी गर्दा हफिजले कप्तान सर्फराजसँग ८० रनको साझेदारी गरेपछि पाकिस्तानले उच्च स्कोर बनाएको हो ।

बलिङतर्फ इंग्ल्यान्डका मोइन अली र क्रिस वोकसले समान ३–३ विकेट लिएका थिए ।