पोखरेली र सुर्खेतवासीको मन जितेको नाटक घेरो अब काठमाण्डौँमा

1215
views

पोखरा । युथ क्रियशन थिएटरको छैटौँ प्रस्तुती लोक नाटक घेरो यहि जेठ २४ गते सर्वनाम थिएटर काठमाण्डौँमा पनि मञ्चन हुने भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा उक्त नाटक मञ्चन हुन लागेको युथ क्रियशन थिएटरका सचिव सौगात पोखरेलले जानकारी दिएका छन् ।

बालनको शैलीमा भजनमार्फत कथा वाचन हुँदै जाने उक्त नाटक पोखराका दर्शकहरुको मन मुटुमा बस्न सफल भएको थियो । पोखरामा मात्र नभइ सुर्खेतको रारा राष्ट्रिय नाटक महोत्सवमा समेत नाटक छनोट भएको हो । गण्डकी क्षेत्रमा बोलिने भाषा र लवजलाई कलाकारले टपक्कै टिपेको नाटकले कार्णलीलाई पनि प्रभावित बनाएका छ । पोखरामा हाउस फुल १८ शो गरोको उक्त नाटक पोखरा अन्तराष्ट्रिय नाटक महोत्सवमा समेत मञ्चन गरिएको थियो । यसरी पोखरा र सुर्खेतको अपार माया बटुल्न सफल नाटक घेरो पुनः काठमाण्डौँमा मञ्चन हुने भएको हो ।

केदार पौडेलले लेखेको उक्त नाटकमा पौडेल स्वयंले कहिले भैँसी त कहिले झाँक्रीको अभिनय गरेका छन् । युथ क्रियसन थिएटरका अध्यक्ष कपिल शर्माले निर्देशन गरेका उक्त नाटकको भजन रचना मधुसुधन पौडेलले गरेका हुन् । साथै अनुभवी रंगकर्मी सरोज अर्यालले ‘घेरो’ लाई लोकनाटकको स्वरूप दिएका थिए ।

नाटक घेरो पुरातन र रुढीवादमाथिको प्रहार रहेको छ । स्थानीयताको स्वाद चखाउन नाटक सफल भएको छ । नाटकमा कलाकार लक्ष्मण डुम्रे र सर्मिला बस्नेतले दम्पतीको अब्बल अभिनय गरेका छन् भने ममता मञ्जुलले फुरुमै को अभिनय निर्वाह गरिकी छन् । नाटकको लेखकसमेत रहेका कलाकार पौडेलले भैंसीको भूमिका निर्वाह गर्दा होस् वा झाँक्रीको भूमिकामा पात्रलाई न्याय गरेका छन् । नाटकमा सञ्जय न्यौपाने, संरचना पौडेल (अञ्जना), प्रसुनलगायतले अभिनय गरेका छन् भने मधुसूदन पौडेल, ताराखर पौडेल र विनोद पौडेल भजनमार्फत देखिएका छन् ।

घेरो नाटक थिएटरको अहिलेसम्मको प्रस्तुतिभन्दा भन्दा फरक भएकाले यसले नाट्यप्रेमी मन जितेको नाटकका लेखक पौडेलका भनाइ रहेको छ । साठिको दशक देखि सुस्ताएको पोखरेलि रंगमञ्च सत्तरिको शुरुवात मै युथ क्रिएशन थिएटर को पहिलो प्रस्तुति नाटक “अन्तराष्ट्रिय रक्सि भट्टि“ बाट फेरि जुर्मुराएको निर्देशक कपिल शर्माले बताएका छन् । नाटक घेरोले मौलिक संस्कृतिहरुको संरक्षण र प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेलेको र काठमाण्डौँमा रहेका नाट्यप्रेमीहरुको लागि पनि घेरो हेर्ने एउटा अवसर भएको थिएटरका सचिव सौगात पोख्रेलले बताएका छन् ।