गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अनिश्चित

1145
views

चितवन, २२ जेठ अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण अनिश्चित बनेको छ । रंगशालको पश्चिम साइडको बाटो ३१ मिटर बनाउँदा जोडिएको जग्गामा क्षति पुग्ने भन्दै स्थानीयले त्यस तर्फको अस्थाई बार भत्काएपछि निर्माण कार्य अनिश्चित बनेको हो ।

रंगशालको सो बार गत जेठ १५ गते स्थानीयले ४ घण्टासम्म डोजर चलाएर अस्थाई बार भत्काएपछि यो विषय अहिलेसम्म सेलाउन सकेको छैन ।
क्रिकेट रंगशाला भत्काउन संलग्न स्थानीयहरुले १६ गतेदेखि बाटो पनि बन्नुपर्ने र रंगशालाको काम पनि अगाडि बढाउनुपर्ने आवाज उठाइ रहेका छन् ।
उनीहरुले रंगशालको बार भत्काउनु दुखद पक्ष भएको भन्दै गल्ती स्वीकार गरिसकेका छन् । घटनामा संलग्न चार जना आरोपीहरु अहिले पनि प्रहरी हिरासतमै भएकाले उनीहरुलाई बिना शर्त रिहाइको माग राख्दै भरतपुर महानगरपालिकाको कार्यालय र जिल्ला प्रसाशन कार्यालय चितवनमा ज्ञापन–पत्र बुझाएका छन् ।
डोजरकाण्डमा मुछिएका स्थानीयहरुले आरोपीहरुलाई रिहाइ गर्नुपर्ने, ५०/५० प्रतिशत जग्गा क्रिकेट स्टेडियम र व्यक्तिगत गरी सो सडकलाई ३१ मिटरको बाटो निर्माण गर्नुपर्ने माग राखेका छन् ।
उनीहरुले यो विषय सम्बोधन भए रंगशाला निर्माणमा जुट्ने धारण राखेका छन् । रंगशालको पश्चिम बाटोमा घर जोडिएका स्थानीय रवीन्द्र भट्टराईले ३१ मिटर बाटो आए १० कठ्ठा जग्गामध्ये ५ कठ्ठाभन्दा बढी बाटोमा जाने बताए । ५ कठ्ठा जाने भएपछि तनाव भएको छ,उनले भने,‘ ५०/५० प्रतिशत बाटोमा जग्गा परे चित्त बुझाउन सकिन्छ । आधाभन्दा बढी जग्गा जाने भएपछि हामीले आवाज उठाएका छौ । हाम्रो आवाजको सुनुवाई हुन सकेको छैन ।’
भट्टराईले ५०/५० प्रतिशतमा सहमति जुटे रंगशाला निर्माणमा खुशी भएर लाग्ने उनको भनाई छ ।
थोरै जग्गा भएपनि ५० प्रतिशतका दरले सहमति जुटे ३१ मिटर बाटोमा निर्माण गर्नेमा रंगशालासँग जग्गा जोडिएका स्थानीयको धारणा छ ।