‘होक्से’ ले रुवायो बच्चादेखि वृद्धसम्म

मिर्गौला बेच्न बाध्य होक्सेवासीको वास्तविक घटना

1597
views

गोपाल जिसी
पर्वत । काभ्रेपलाञ्चोक जिल्लाको होक्सेमा मिर्गौला बेच्न बाध्य भएकाहरुको वास्तविक घटनामा आधारीत रहेर निर्माण गरिएको नेपाली सामाजिक चलचित्र (डकुमेण्ट्री) ‘होक्से’ देशका ७७ वटै जिल्लाका विभिन्न विद्यालयमा देखाइएको छ ।

गरिबी, अशिक्षा, अभावसँगै बेरोजगारीका कारण बाँच्नका लागि पैसाको प्रलोभनमा परेर मिर्गौला बेच्न बाध्य होक्सेबासीको घटनालाई ‘होक्से’ नाम दिएर लेखक/निर्माता/निर्देशक एवं बरिष्ठ कलाकार शंकर आचार्य (बरिष्टे) ले प्रर्दशनमा ल्याएका हुन् ।

काभ्रेपलाञ्चोकमा दशकौं अघिदेखि मिर्गौला बेचबिखन गर्न थालेपछि यसको भयानक प्रभाव देशका अन्य ठाउँहरुमा समेत नपरोस् भन्ने उद्वेश्यले निर्माण गरिएको सो डकुमेण्ट्रीका निर्माताले १५ बर्षसम्मको गहिरो अनुसन्धानपछि उक्त डकुमेण्ट्री निर्माण गरेका हुन् ।

होक्सेमा १२/१५ बर्षमाथि र ६५ वर्षसम्मका व्यक्तिहरुले मिर्गौला बेच्न बाध्य रहेको अवस्थामा लेखक एवं निर्माता आचार्यले डकुमेण्ट्री मार्फत सचेतना जगाउँदै उक्त देशैभर प्रर्दशनको अभियानमा लागेका हुन् ।

२६ वटा जिल्लामा प्रर्दशन गरिसकिएको ‘होक्से’ बुधबार पर्वतको सिद्धेश्वर चलचित्र हलमा श्री आर्दश अंग्रेजी आवासिय मावि कुश्माका विद्यार्थी एवं अभिभावकहरुमा देखाइएको थियो ।

सो चलचित्र हेरिरहँदा ‘होक्से’का पात्रको अभिनयले विद्यार्थीदेखि अभिभावकसम्म सबैका आँखा रसाएका थिए । ‘होक्से’ मा मिर्गौला बेच्नुपर्ने वाध्यतासँगै पारिवारिक गलत संस्कारले कलिलो बालबच्चामा पारेको दुरगामी असर र अन्त्यमा मिर्गौला बेचेको विषयवस्तुलाई समेटिएको छ ।

डकुमेण्ट्री मार्फत मान्छेको वास्तविक पीडा, गरीबी अशिक्षा र वेरोजगारीका कारण मिर्गौला जस्तो महत्वपूर्ण अङ्ग बेच्नुपर्ने वाध्यता, सन्ततिलाई दिइने गलत संस्कार, आवेशमा गरिएको गलत निर्णयको प्रतिफल, कु–संगतले पारेको दलदल, कलिलो मनमष्तिष्कमा परेको अनावश्यक पीडाको दुष्परिणाम जस्ता विषयवस्तुलाई उजागार गरिएको छ ।

‘होक्से’ प्रर्दशनपछि सो डकुमेण्ट्रीका लेखक एवं निर्माता शंकर आचार्यले पैसा कमाउनका लागि भन्दा पनि सामाजिक सचेतना जगाउनका लागि निर्माण गरिएको प्रतिक्रिया दिएका छन् ।

भद्रगोल सिरियलमा भैगोनि त हजुर बरिष्ट हस्त नमस्ते (बरिष्टे) को भुमिकामा देखिने निर्देशक शंकर आचार्यले होक्सेलाई मिर्गौला पीडित गाउँ रहेको समेत बताए ।

सत्य घटनामा आधारीत नेपाली सामाजिक चलचित्र ‘होक्से’ सबैले हेर्नैपर्ने सन्देशमुलक डकुमेण्ट्री रहेको श्री आर्दश अंग्रेजी आवासिय मावि कुश्माका प्रिन्सिपल हिमबहादुर पौडेल क्षत्रीले प्रतिक्रिया दिए ।

‘होक्से’मा राज आचार्य, नम्रता सापकोटा शंकर आचार्य, गौरी मल्ल, मन्जिता के.सी., हिरा जलन दाहाल, विशाल विष्ट, रिजा भुसाल, गणेश उप्रेति, देशभक्त खनाल, विद्या कार्की, आनन्द थापा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।