भूकम्प पीडितहरुसँग पुननिर्माण प्राधिकरण

613
views

पोखरा, २३ जेठ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० ले कास्कीको अन्नपूर्ण गाँउपालिकामा रहेका भूकम्प पीडितहरुसँग अन्तरक्रिया गरी उनीहरुको गुनासा सुनुवाई गरेको छ ।

बुधबार भएको कार्यक्रममा उक्त गाउँ पालिकाका वडा नम्बर १, २ र ३ का पीडितहरु सहभागी रहेका थिए । कार्यक्रममा सहभागी पीडितहरुले प्राधिकरणबाट समयमा किस्ता रकम निकासा हुन नसकेको, गुनासोको वेवास्ता गरिएको, प्राविधिक आउनु अघि नै बनाइएका घरको अनुदान पाउन समस्या भएको, कार्यविधिहरु नभएको वहानामा किस्ता रकम रोकिएको, प्रवलीकरण र पुननिर्माणको विषयमा अझैपनि अन्यौल रहेको गुनसो गरेका थिए ।

कार्यक्रमको अध्यक्षता गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले वास्तविक पीडितहरुले अझै पनि राहात नपाएका र टाठाबाठाले मात्रै सुविधा पाउने अवस्था रहेकोले त्यसमा तत्काल सुधार गर्नुपर्ने बताए । सवलीकरण तथा पुननिर्माणको लागि अझै पनि प्राविधिक जनशक्तिको अभाव रहेकोले त्यसको लागि तत्काल व्यवस्था गर्न पनि उनले माग गरेका छन् । त्यसैगरी कार्यक्रममा अध्यक्ष कुँवरले वास्तविक पीडितहरुलाई राहत उपलब्ध गराउनको लागि गाँउपालिकाले एउटा फोकल पर्सन तोक्ने र गाँउपालिकाको आगामी बैठकबाटै यसको टुँगो लगाउने प्रतिवद्धता पनि जनाएका छन् । भूकम्प पीडितहरुले भोग्नुपरेको समस्याको जानकारी अझै पनि गाँउपालिकासम्म पनि नआउने अवस्था रहेकोले फोकल पर्सनको व्यवस्थाले पीडितहरुको समस्याबारेमा बेलैमा थाहा हुने विश्वास उनको रहेको छ ।

कार्यक्रममा बोल्दै जिल्ला आयोजना कार्यान्वयन इकाईका सिनियर इन्जिनियर नवराज शर्माले प्राविधिक नपुग्दै बनेका घरको सन्दर्भमा गत भदौमा नै एकमुण्ठ ३ लाख रुपैयाँ दिने निर्णय भए पनि कार्यविधि आइनसकेकोले ढिलाई भएको र कार्याविधि आउनासाथै यस विषयको समस्या समाधान हुने विश्वास व्यक्त गरे । भूकम्प पीडितहरु एक महिला, अशक्त तथा अपाङ्ग भएमा थप ५० हजार रुपैयाँ अनुदान पाउने व्यवस्था भएको पनि उनले जानकारी दिए । त्यसको लागि सम्बन्धित वडा र पालिकाबाट प्रक्रिया अगाडि बढाउनुपर्ने व्यवस्था रहेको पनि उनले जानकारी दिए ।

जिल्ला आयोजना कार्यान्वयन इकाई भवनका लक्ष्मण जिसीले प्राविधिक आउनु अघि नै बनेका भवन, ऐलानी घरमा बनेका घर, कार्यविधिहरु निर्माणमा ढिलाई नै मुख्य समस्या रहेकोले यस विषयमा तत्काल ध्यान पु¥याउनुपर्ने अवस्था रहेको बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका इन्जिनियर प्रभात लामिछानेले विद्यालय निर्माणका काम धमाधम भैरहेको र समय सीमाभित्रै सक्नको लागि सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई निर्देशन दिइसकेको बताए । भूकम्प पीडित विद्यालयको भवन निर्माणको लागि सम्पूर्ण खर्च सरकारले नै उपलब्ध गराएकोले भवन निर्माको गुणस्तरमा कुनैपनि सम्झौता नहुने कुरामा पनि उनले जोड दिएका थिए । कार्यक्रममा इन्जिनियर जमुना भट्टराई, अभिषेक घिमिरे लगायतले पीडितहरुले उठाएका सवालको जवाफ दिएका थिए ।

उक्त कार्यक्रममा अन्नपूर्ण गाँउपालिका वडा नम्बर १का वडाध्यक्ष भरतबहादुर कुँवर, वडा नम्बर २का वडाध्यक्ष चुडामणि अधिकारी, वडा नम्बर ३का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ्गले पनि बोल्दै पुननिर्माणको काममा निर्वाचित जनप्रतिनिधिलाई पनि जिम्मेवार बनाउनुपर्ने, किस्ता रकम समयमा नै निकासा दिनुपर्ने, कामको प्रगति तथा समस्याको बारेमा वडा कार्यालयमा पनि जानकारी दिनुपर्ने बताएका थिए ।

कास्कीको अन्नपूर्ण गाँउपालिकामा जम्मा ३ सय ९५ जना लाभग्राही भएकोमा ३ सय ५३ जनाले मात्र सम्झौता गरी पहिलो किस्ता बापतको ५० हजार बुझेको जिल्ला आयोजना कार्यान्वयन इकाई भवनका लक्ष्मण जिसीले बताए । अझै ४२ जनाले सम्झौता गर्न बाँकी नै छ । गाँउपालिकामा घर सम्पन्न गरी तेश्रो किस्ता लिनेको संख्या ७५ रहेको छ भने दोश्रो किस्ता १ सय ७९ जनाले लिईसकेका छन् । अहिले १० घर निर्माणको क्रममा रहेका छन् ।