पानीजहाज चलाउन नारायणीको गहिराइ नाप्न शुरु

507
views

चितवन, २३, जेठ । पानीजहाज सञ्चालनका लागि चितवनको दासढुंगादेखि नेपाल–भारत सिमानामा पर्ने गण्डक ब्यारेजसम्म करीब ९० किलोमिटर क्षेत्रमा नारायणी नदीको गहिराइ नाप्ने काम भइरहेको छ । जल तथा ऊर्जा आयोगको सचिवालयले नारायणी नदीमा पानीजहाज सञ्चालनको सम्भाव्यतासम्बन्धी पहिलो चरणको अध्ययन सुरु गरेको हो ।

आवश्यक तथ्यांक संकलन गरिसकेपछि प्रारम्भिक अध्ययन गर्ने र त्यसको आधारमा अर्को वर्ष विस्तृत अध्ययनको काम अघि बढाउने योजना रहेको जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव ऋषिराम शर्माले जानकारी दिए ।

टोलीले दुई दिनको अवधिमा १५ किलोमिटर क्षेत्रमा प्रारम्भिक अध्ययन सकिसकेको छ । अहिलेसम्म कममा ३ देखि बढीमा १२ मिटरसम्म गहिरो स्थान फेला परेको अध्ययन टोलीले जनाएको छ ।

ठूलो जहाज चलाउने नै भए ड्याम बाध्नुपर्ने पनि हुनसक्छ,’ अध्ययन टोलीमा संलग्न परामर्शदाता इनोभेटिभ इन्जिनियरिङ सर्भिसेज प्रालिका प्रवन्ध निर्देशक अनुप खनालले भने, ‘यद्यपि अहिलेको हाम्रो प्रारम्भिक अध्ययन गहिराइ नाप्ने मात्र हो ।’

नारायणी नदीको गहिराइ नाप्न डी.जी.पी.एस. प्रणालीमा चल्ने इको साउन्डर र मोटरबोट जस्ता आधुनिक उपकरणको प्रयोग गरिएको छ ।