पहिलो चरणको निर्वाचनको नतिजा अपेक्षाकृत भएको माओवादी केन्द्रको निष्कर्ष

585
views

काठमाण्डौ, ८, जेठ । पहिलो चरणको निर्वाचनमा प्राप्त नतिजालाई नेकपा (माओवादी केन्द्र) को हेडक्वार्टरको बैठकले पार्टीले प्राप्त गरेको नतिजा अपेक्षाकृत नै भएको निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री प्रचण्ड निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको बैठकले निर्वाचनको नतिजा अपेक्षाकृत भएको समीक्षा गरेको हो ।
पार्टी एकता भए पनि सङ्गठन व्यवस्थित बन्न नसकेको र अस्तव्यस्तताका बीच निर्वाचनमा होमिए तापनि जनमत अपेक्षाकृत नै भएको बैठकले निष्कर्ष निकालेको हो ।
बैठकमा पहिलो चरणको निर्वाचन सम्पन्न भएका २८३ स्थानीय तहमध्ये ४६ स्थानमा विजय हासिल गरिएको र ५० भन्दा बढी तहमा ५०० भन्दा कम मतान्तरले पराजित भएको समीक्षा गर्दै उक्त ठाउँहरुमा आगामी प्रदेश र संघको निर्वाचनमा पार्टीले विजय हासिल गर्ने आधार भएको निष्कर्ष निकालिएको छ ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सिंहदरबारमा केन्द्रित अधिकारलाई जनताको घरआँगनमा लैजानु र स्थानीय तहलाई बलियो बनाउन निर्वाचन सम्पन्न गर्नु नै माओवादीको जित भएको बताए ।
बैठकले दोस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट प्रभावकारी रुपमा कार्ययोजना बनाउने र छिटै उम्मेदवार चयन गरेर निर्वाचनमा होमिने निर्णय समेत गरेको छ ।