‘गुठी विधेयक गुठीको सम्पत्ति कब्जा गर्ने रणनीति’

1204
views

नुवाकोट । नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिशनरसिंह केसीले संविधान विपरीत गुठी विधेयक गुठीको सम्पत्ति कब्जा गर्न ल्याएको विधेयक भएको आरेप लगाएका छन् ।

के.सी.ले आज प्रेस विज्ञप्ती जारी गर्दै संविधानमा भएको प्रावधान ‘सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण’ को विपरीत आएको गुठी विधेयक जग्गा व्यवस्थापनका नाममा गुठीयारको अधिकार खोसेर सरकारको नाममा ल्याई गुठीको सम्पत्तिमाथि कब्जा गर्ने रणनीति भएको बताएका छन् ।

उनले विज्ञप्तिमा सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको भन्दै गुठीयारको अधिकार खोस्ने र हाम्रो धर्म, संस्कृति र परम्परामाथि प्रहार गर्न खोजेको आरोप लगाए ।

विज्ञप्तिमा उनले भनेका छन् ‘हाम्रो संस्कृति, परम्परा, पूर्वजले सुम्पेको धरोहर र गौरवको प्रतिक हो गुठी । हाम्रा पूर्वजले सामाजिक कार्य तथा धर्म ,संस्कृति र परम्पराको संरक्षण हेतु खडा गरिएको गुठी नेपालको एउटा विशेषता हो । विशेषगरि काठमाडौ उपत्यकाको धरोहर र पहिचान गुठी नै हो । तेस्तै नुवाकोट जिल्लाभर विभिन्न भेगमा पनि यस्ता गुठीका जग्गाहरु प्रसस्त भेटिन्छन् ।’

यस्तै संविधानमा भएको प्रावधान “सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण’’ को विपरीत आएको गुठी विधेयक जग्गा व्यवस्थापनका नाममा गुठीयारको अधिकार खोसेर सरकारको नाममा ल्याई गुठीको सम्पत्तिमाथि कब्जाको रणनीति लिएको स्पष्ट हुन्छ ।सर्वसत्तावाद तर्फ उन्मुख सरकारले गुठीयारको अधिकार खोस्ने मात्र हैन हाम्रो धर्म, संस्कृति र परम्परामाथि प्रहार गर्न खोजेको स्पष्ट हुन्छ भनिएको छ ।

केसीले विज्ञप्ति मार्फत ‘धर्म संस्कृति र परम्पराको संरक्षणकानिम्ति स्थापित भएको गुठीका सम्बन्धमा ल्याईएको विधेयक तत्काल फिर्ता लिई, गुठीमा आइपरिरहेको समस्या समाधान गर्नतर्फ नेपाली कांग्रेस नुवाकोट सरकारको ध्यानाकर्षण गराएका छन् ।

२०७६ साल जेठ २६ गतेका दिन माइतीघर मण्डलामा गुठी विधेयकको विरुद्धमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका संरक्षणकर्मी तथा विभिन्न गुठीयारहरुले १० मिनेटमा प्रदर्शन समाप्त गर्ने जनाउँ दिदादिदै पनि सरकारी दमन, धरपकड र अन्धाधुन्ध बलप्रयोग गरि पानीको फोहरा प्रहारसँगै दर्जनौ संरक्षणकर्मी तथा गुठीयारहरुलाई घाईते बनाइएकोप्रति गम्भीर ध्यानाकर्षणका भएको पनि जनाएका छन् ।