दुर्लभ वन्यजन्तु तथा गैंडाका सयौं खाग लगायत आखेटोपहार जलाइयो

719
views

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा सोमबार दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाका साढे तीन सयभन्दा बढी खाग जलाएर नष्ट गरिएको छ । कसरास्थित श्रीजंग गणको खेलमैदानमा १५ मिटर लामो, पाँच मिटर चौडा र एक मिटर अग्लो भट्टीमा आखेटोपहार जम्मा गरी दाउरा र कोइला बालेर नष्ट गरिएको हो । गत बिहीबार (जेठ ४ गते) बसेको मन्त्रिपरिषद्को बैठकले मरिसकेका वन्यजन्तुको अंग (आखेटोपहार) नष्ट गर्ने निर्णय गरेको थियो । मन्त्रीपरिषद्को निर्णयअनुसार गैंडाको खाग, छाला, बाघको छाला, हड्डीलगायत आखेटोपहार जलाएर नष्ट गरिएको हो । आखेटोपहारमा गैंडाको खाग तीन सय ५७ वटा, बाघको छाला ६७ थान, चितुवाको छाला चार सय १८ थान, ध्वाँसे चितुवाको छाला दुई थान, हिउँचितुवाको छाला एक थान, कस्तुरीको बिना ३४ वटा, हाब्रेको छाला ४७ थान, भालुको पित्त १५ वटा, हात्तीको पुच्छरका रौं तीन सय ५४ वटा, चिरुको ऊन ४२ पोका, सालकको खपटा दुई पोका र जरायोका सिङ छन् ।
देशभरबाट संकलन भएकामध्ये चितवनको टिकौलीमा रहेको सशस्त्र वनरक्षक तालिम केन्द्रमा भण्डारण गरिएका एक हजार सात सय ३९ वटा र चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा भण्डारण गरिएका चार हजार १२ वटा आखेटोपहार जलाएर नष्ट गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बताउनुभयो । मृत वन्यजन्तुका अंग मूल्यहीन हुन् र यिनको महत्व यिनीहरू जीवित छँदा मात्र हुन्छ भन्ने सन्देश दिन आखेटोपहार जलाउने सरकारले निर्णय गरेको थियो । प्राकृतिक अवस्थामा कालगतिले मरेका र चोरीसिकारबाट मारिएका दुर्लभ वन्यजन्तुको आखेटोपहार टिकौली र कसरामा भण्डारण गरी राखिएको थियो । दुर्लभ वन्यजन्तुका विभिन्न अंग, हाडखोर र छालालाई आगोमा डढाएर नष्ट गर्नुको मुख्य उद्देश्य यस्ता सामग्री प्रयोगविहीन हुन् र यिनको कुनै मूल्य छैन भन्ने सन्देश दिनु रहेको वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य बताउनुहुन्छ ।