मोदीले पाकिस्तानको हवाई मार्ग प्रयोग नगर्ने

465
views

जेठ, २९, गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले किर्गिस्तानको बिस्केक पुग्न पाकिस्तानको हवाई मार्ग प्रयोग नगर्ने भएका छन् । मोदीको विशेष विमानबाट हुने हवाई यात्राका लागि बन्देज लगाएको मार्ग खोल्न पाकिस्तान तयार भएपनि भारतीय पक्षले अर्को मार्गबारे टुंगो लगाएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले ओमान, इरान र मध्य एशियाली राष्ट्र हुँदै बिस्केक पुग्ने जानकारी दिएको इन्डियन एक्सप्रेसले जनाएको छ । पाकिस्तानको मार्ग भएर जाँदा यात्रा छोटो हुने थियो । तर, मोदीले उक्त मार्ग प्रयोग नगर्नुलाई अर्थपूर्ण मानिएको छ ।

३० र ३१ जेष्ठमा किर्गिस्तानको बिस्केकमा आयोजना हुन गइरहेको सांघाई सहयोग संघको शिखर सम्मेलनमा सहभागी हुन मोदी बुधबार प्रस्थान गर्दैछन् । बिस्केकमा उनले चिनियाँ राष्ट्रपति सि जिङपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्ने तय भएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खान बिस्केक पुग्दैछन् । दुई नेताबीच भेट तय भएको छैन । भारतीय विदेशमन्त्रालयका प्रवक्ता रविश कुमारले दुई नेताबीच द्विपक्षीय भेट तय नभएको बताइसके । शिखर सम्मेलनमा खानसँग कुनै साइडलाइन भेट तय नभएको उल्लेख गरेका छन् । रिपोर्टर्स नेपालबाट