सुपुर्दगी विधेयकविरुद्ध हङकङमा आन्दोलन

906
views

हङकङ । हङकङमा सुपुर्दगीसम्बन्धी एउटा विवादास्पद विधेयकलाई लिएर जारी आक्रोशले हिंसाको रूप लिँदै गएको छ । सडकमा विरोध प्रदर्शन भइरहेको छ भने विरोधमा उत्रिएकामाथि प्रहरीले रबरको गोली र अश्रुग्यास प्रहार गरेको छ । सुपुर्दगीसम्बन्धी विधेयकको विरुद्धमा सडकमा उत्रिएका प्रदर्शनकारीले सरकारी भवन वरपरका मुख्य सडकहरु अवरुद्ध पार्दै प्रहरीमाथि ढुङ्गामुढा गरेपछि रबरको गोली र अश्रुग्यास प्रहार गरिएको प्रहरीले बताएको छ ।

हङकङ सरकारले मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारेको सो विधेयकलाई अघि बढाउँन लागिरहेका बेला सडकमा प्रर्दशन भएको हो । विधेयक पारित भएसँगै मुख्य भूमि चीनतर्फ सुपुर्दगी प्रक्रिया अघि बढाउन सहज तुल्याउने छ । विधेयक जुन २० मा हुने अन्तिम मतदानपछि पारित हुने अनुमान गरिएको छ ।

यद्यपि विरोधका स्वर बाहिरिएपछि हङकङको विधायिका परिषद्ले उक्त विधेयकमाथिको दोस्रो छलफलमा केही ढिलाइ गरेको बिबिसीले उल्लेख गरेको छ । बेइजिङ समर्थक विधायिका परिषद्ले भनेको छ बुधवार हुने भनिएको परिषद्को बैठक अब ‘पछि कुनै समयमा’ हुनेछ।तर बैठक कहिले हुन्छ भन्नेबारेको समय भने निर्धारण गरिएको छैन ।

हङकङमा प्रदर्शनकारीविरुद्ध रबरको गोली प्रयोग भएको दशकौंपछि यो पहिलो घटना हो।सुरक्षा फौजले बुधबार गरेको बल प्रयोगका कारण यो समाचार तयार पार्दासम्म २२ जना घाइते भएका छन्।भने कोही पनि घाइते चिन्ताजनक अवस्थामा भने नरहेको बताइएको छ।

उक्त सुपुर्दगी विधेयकले हङकङभित्र रहेका चीन विरोधी विपक्षी राजनीतिक दल प्रभावित हुन सक्ने भन्दै गत जुन ९ का दिनदेखि हङकङमा प्रदर्शन सुरु भएको थियो ।

विवादित सुपुर्दगी विधेयकमा हङकङमा रहेका वा भेटिएका शंकास्पद अपराधीलाई मुख्यभूमि चीनतर्फ पठाउनसक्ने व्यवस्था रहेको छ ।

हजारौं सहभागी विरोध प्रदर्शन सुरुमा शान्तिपूर्ण नै देखिएको थियो । प्रदर्शन चर्कदै जाँदा सरकारी र विरोधी दुवै पक्ष आक्रमक बनेपछि सुरक्षा फौजले प्रदर्शनकारीविरुद्ध अश्रुग्यास, रबरको गोली आदि प्रयोग गरेको छ । प्रहरीले भने प्रदर्शनकारीले सरकारी भवनहरुमा आगजनीको प्रयास गरेपछि बल प्रयोग भएको जिकिर गरेको छ ।