अधिकारी बंश प्रतिष्ठानद्वारा केन्द्रिय सदस्य अधिकारीलाई सम्मान

1121
views

पर्वत । कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान जिल्ला कार्यसमिति म्याग्दी र बेनी नगरपालिका ४ तातोपानी फापरखेतका अधिकारी बन्धुहरुको आयोजनामा कुल पूजा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । म्याग्दीको बेनी नगरपालिका ४ तातोपानीमा म्याग्दीमा बसोबास गरिरहेका तथा म्याग्दीबाट बसाईँ सरेर देशका बिभिन्न ठाउँमा गएका अधिकारीहरु एकै ठाउँमा भेला भएर कुल पूजा गरेका हुन् ।

कार्यक्रमको उद्घाटन केन्द्रिय सदस्य गोविन्द अधिकारी र जेष्ठ नागरिक प्रेमदत्त अधिकारीले संयुक्त रुपमा गर्नुभएको थियो । कुल पूजासँगै राष्ट्र सेवामा रहेका तथा जेष्ठ नागरिक अधिकारीहरु १५ जनालाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमध्ये अधिकारी वंश प्रतिष्ठानका केन्द्रिय सदस्य गोविन्द अधिकारी, जेष्ठ नागरिकहरु प्रेमदत्त अधिकारी, मिनबहादुर अधिकारी र सकुन्तला अधिकारीलाई दोसल्ला सहित बिशिष्ट सम्मान प्रदान गरिएको हो ।

यसैगरी, अरु ११ जनालाई खादाले सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै अधिकारी वंश प्रतिष्ठानका केन्द्रिय सदस्य गोविन्द अधिकारीले कुल पुजा अधिकारीहरुको ऐतिहासिक सम्पत्ति भएको बताउँदै पुर्खाहरुको मुक्तिको लागि यो आवश्यक रहेको बताउनुभयो । बर्षौँदेखि हुँदै आएको कुल पुजाको महत्व यूवाहरुले पनि बुझ्न सकेमा धर्म, संस्कृति र परम्पराको रक्षा गर्न सजिलो हुने उहाँको भनाई छ ।

यस्तै, प्रतिष्ठानको केन्द्रिय समितिले प्रकाशन गर्न लागेको दोस्रो संस्करणको वंशावली पुस्तकमा कसैलाई पनि नछुटाउने गरी विवरण संकलन गरिएको बताउँदै पुस्तकमा राख्नुपर्ने जानकारीका बारेमा सूचना दिन सबै अधिकारी बन्धुहरुमा आग्रह गर्नुभयो । अधिकारी वंश प्रतिष्ठान बिशुद्ध गोत्रीय संगठन भएकोले यस संगठनमा राजनीति नभई अधिकारीहरुको नालेबेली पत्ता लगाई आफ्नो इतिहासलाई ज्यूँदो राख्ने काम गरिने पनि अधिकारीको भनाई छ ।

अर्को प्रसंगमा बोल्दै उहाँले देशका प्रतिष्ठित व्यक्तिहरु समेत जाने गरेको म्याग्दीको तातोपानी कुण्ड बिभिन्न देशका बाह्य पर्यटकहरु सहित आन्तरिक पर्यटकहरुको लागि पनि आकर्षणको केन्द्र रहेको उल्लेख गर्नुभयो । कुण्डको बारेमा थप प्रचार प्रसार गर्न सकेमा त्यहाँसम्म पुग्ने पर्यटकहरुका कारण स्थानीय नागरिकको आर्थिक उपार्जनमा सघाउन पुग्नुको साथै सरकारले लिएको पर्यटन सम्बन्धी लक्ष्य प्राप्तीमा पनि टेवा पुग्ने उहाँको भनाई छ । अधिकारी वंश प्रतिष्ठान म्याग्दीका अध्यक्ष तुलसीराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कौशिला अधिकारीले गर्नुभएको थियो ।

अधिकारी वंश प्रतिष्ठान बागलुङका उपाध्यक्ष कविराज अधिकारी, पर्वतका अध्यक्ष हेम अधिकारी, राष्ट्र सेवक कर्मचारी शकुन्तला अधिकारी, स्थानीय हरिकृष्ण अधिकारी, राम अधिकारी, लिलाधर अधिकारी लगायतले बोल्नुभएको कार्यक्रमको संचालन प्रतिष्ठान म्याग्दीका केन्द्रिय प्रतिनिधि सोमनाथ उपाध्याय अधिकारीले गर्नुभएको थियो ।