आयोजना लम्बिँदा लागत दोब्बर बढी

630
views

लामाबगर (दोलखा) । सुरुङभित्रको चारतले ठूलो घरबराबरको क्षेत्रफलमा ट्रान्सफर्मर, जेनेरेटर, स्विच गियर, भल्बजस्ता उपकरण जडान भइसकेका छन् । माथिल्लो तलामा ‘कन्ट्रोल रुम’ पनि तयार भइसकेका छन् । मेसिन तथा उपकरण जडान गर्न केही पनि बाँकी छैन । तामाकोसी नदी थुनेर ल्याइने पानी बग्ने ठूल्ठूला पाइप विदुतगृहभित्र जोडेर तयार पारिएको छ । त्यही पाइप हुँदै विद्युत्गृह प्रवेश गर्ने पानीले घुमाएर ऊर्जा उत्पादन गर्ने ६ वटै टर्वाइन घुम्न तयारी अवस्थामा छन् ।

‘यहाँभित्र अब सानातिनाबाहेक केही पनि काम बाँकी छैन’, आयोजनाका वरिष्ठ इन्जिनियर विमल गुरुङले भने, ‘पानी खन्याउन पाए भित्र जडान भएका ६ वटै टर्वाइन घुमाएर बिजुली बाल्नेगरी पावर हाउस (विद्युतगृह) तयार भइसकेको छ ।’

स्वदेशी लगानीमा निर्मित सबैभन्दा ठूलो यो आयोजनाको बाँधस्थलको काम पनि प्रायः सकिएको छ । ट्रान्समिसन लाइन निर्माण अन्तिम चरणमा छ । ‘बाँधस्थलबाट ८ किलोमिटर सुरुङ हुँदै पावर हाउसमा पानी खसालेपछि आयोजना सम्पन्न हुनेछ’, गुरुङले भने । तर सुरुङमार्गको ७ सय ८३ मिटर खण्डमा पाइप राख्ने काम आयोजनाका लागि ठूलै तगारो बनेएको छ । यसै कारण आयोजना नै पछाडि धकेलिएको छ ।

अस्ट्रियाका त्रिस्चियन उल्हरले २०५४ सालमा माथिल्लो तामाकोसी सस्तोमा निर्माण हुन सक्ने पत्ता लगाएपछि नेपाल विद्युत् प्राधिकरणले यो आयोजनामा हात हाल्यो । पानी नचुहिने खालको बलियो प्राकृतिक बाँध रहेका कारण सस्तोमा निर्माण हुन सक्ने यो परियोजना स्वदेशी लगानीमा बनाउने प्रस्ताव आयो । आफ्नै लगानीबाट यति ठूलो परियोजना सम्पन्न गर्न नसकिने भन्दै तत्कालीन सरकारका मन्त्रीहरु हच्किएका थिए । तर पनि स्वदेशी पुँजीबाटै नेपाल आफैंले यति ठूलो आयोजना बनाई छाड्ने अठोट गरी तत्कालीन अधिकारीहरुले यो आयोजनालाई अघि बढाए । २०६३ सालमा कम्पनी बनाएर आयोजनाको काम अघि बढाइएको थियो । ७० प्रतिशत ऋण र ३० प्रतिशत सेयर संरचनामा निर्माणाधीन माथिल्लो तामाकोसीमा कर्मचारी सञ्चय कोषको १० अर्ब, नेपाल टेलिकमको ६ अर्ब, नागरिक लगानी कोष र बिमा संस्थानको २÷२ अर्ब र नेपाल सरकारको ११ अर्ब ऋण लगानी छ। ऋण लगानीकर्ता, तीनमा कार्यरत कर्मचारी, सञ्चय कोषका सञ्चयकर्ता, देशभरका सर्वसाधारण र दोलखाबासीको गरेर आयोजनामा करिब ५ अर्ब रुपैयाँको सेयर छ ।

२०६७ भदौमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेको यो आयोजना २०७३ असारमा सम्पन्न हुने लक्ष्य राखिएको थियो । तर भूकम्प र नाकाबन्दीले आयोजनालाई दुईवर्ष पछि धकेलिदियो । त्यसमाथि पाइप जडानले समस्या थप्यो। विद्युत्गृहसम्म पानी लैजान बनाइएको सुरुङको दुई स्थानमा ९० डिग्रीको ठाडो खण्ड पर्छ । ३ सय १० र ३ सय ७३ मिटरका यी ठाडा सुरुङमा पानी सजिलो गरी खसेर विद्युतगृहतर्फ जाओस् र सुरुङलाई नोक्सानी पनि नपुगोस् भनी यी दुई स्थानमा स्टिलका पाइप जडान गर्ने योजना छ, जसलाई पेन स्टक भनिन्छ । यही काममा ठेकेदारले ढिलाइ गर्दा सिंगो आयोजना नै पछि धकेलिएको छ ।

पछिल्लोपटक आयोजनाका अधिकारीहरुले २०७५ असोजमा बिजुली उत्पादन गर्ने घोषणा गरेका थिए । तर हाइड्रोमेकानिकलतर्फको ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याकोले पाइप ढुवानी र जडानमा ढिलाइ गरेका कारण संशोधित समयमा पनि आयोजना सम्पन्न हुन सकेन । टेक्सम्याकोकोे कामको गति सुस्त भएपछि आयोजनालाई नै अफ्ठेरो पर्ने स्थिति आएको भन्दै सरकारले पाइप जडानको काम आयोजनामै इलेक्ट्रोमेकानिकलतर्फ कार्यरत अर्को विदेशी ठेकेदार एन्ड्रिज हाइड्रोलाई समेत बाँडेर दिने सहमति गराएको थियो । हाल ठाडो सुरुङको ३ सय १० मिटर खण्डमा टेक्सम्याको र ३ सय ७३ मिटर खण्डमा एन्ड्रिज हाइड्रोले काम गरिरहेका छन् ।

सुरुमा ३५ अर्ब खर्च हुने अनुमान गरिएको आयोजनाको लागत बढेर ७३ अर्ब पुग्ने भएको छ । भूकम्प र नाकाबन्दीको असरले आयोजनाको लागत ३५ अर्बबाट ४९ अर्ब पुगेको थियो । आयोजनाको ऋणको ब्याज मात्र २३ अर्ब पुगेका कारण लगानी बढेर ७३ अर्ब पुग्ने अनुमान गरिएको हो । पाइप जडानको कामले गति लिन नसके लागत अझ बढ्ने चेतावनी अधिकारीहरुले दिएका छन् । पाइप जडानमै भएको ढिलाइले ऋणको ब्याज र सम्भावित आम्दानीसमेत गरेर आयोजनाले दैनिक चार करोड नोक्सानी बेहोरिरहेको छ ।

३ सय ७३ मिटरको ठाडो सुरुङमा ५ मिटर लम्बाइका ७४ वटा पाइप जडान हुनेछन्। एउटै पाइप २७ टन वजनको हुन्छ । एउटा पाइप राख्न र त्यसलाई अर्कोसँग जोड्न कम्तीमा एक साता लाग्छ । एउटा पाइप राखेपछि त्यसलाई अर्कोसँग जोड्न २४ घण्टा तताउनुपर्छ । वेइल्डिङ गरिसकेपछि त्यसलाई चिस्याउन अर्को २४ घण्टा राख्नुपर्छ । प्राविधिकहरुले पाइप राख्ने काम ८÷९ महिनामा सकिने अनुमान गरेका छन् । यस हिसाबले फागुनसम्म यो काम सकिने अनुमान छ । ‘तर पाइप जडान असाध्यै जोखिमयुक्त भएका कारण यति समयमै सकिन्छ भन्ने अवस्था नै छैन’, आयोजनाका एक अधिकारीले नागरिकसँग भने, ‘पाइपको काम जति छिटो सकियो, आयोजना पनि त्यति नै छिटो सम्पन्न हुन्छ ।’ आयोजनाको अरु काम सकिए पनि पाइप जडानसँग प्रसारण लाइनको पनि काम बाँकी छ । भारतीय कम्पनी केइसी इन्टरनेसनलले प्रसारण लाइन निर्माणको काम गरिरहेको छ । गोंगरदेखि खिम्तीसम्म ४७ किलोमिटर लामो प्रसारण लाइनमा रहने एक सय २७ टावरमध्ये १ सय २६ वटा बनिसकेका छन् । गोंगरनजिकै एउटा टावर ठड्याउन बाँकी छ । त्यस्तै नौ किलोमिटर तार टाङ्न बाँकी छ । तीन महिनाभित्र प्रसारण लाइनको काम पूरा हुने अधिकारीहरुले बताएका छन् । नागरिक न्यूज nagariknews.nagariknetwork.com/news/79862/ बाट