डेंगुको विरुद्ध सचेतना तीब्र पार्दै रेडक्रस

567
views

धरान । धरानमा गत एक महिना देखि सुरु भएको डेंगुले धेरैजनालाई प्रभावित पारेपछि स्थानीय विपद व्यवस्थापन समितिको सहयोगमा नेपाल रेडक्रसले चरणबद्ध हिसावले सरसफाई अभियान सञ्चालन गरेको छ । धरानको ८ र १५ नंवर वडा डेंगु संकटग्रस्त क्षेत्र घोषणा भएपछि घरभेट गर्ने, ड्र«ममा जम्मा गरिएका सफा पानीलाई हटाउन सुझाव दिने र टोल आँगन सरसफाई गर्ने जस्ता काममा रेडक्रसका स्वयंसेवकहरु हरेक दिन विहान सक्रिय रहेका छन् ।

‘४० जना रेडक्रसकर्मी र स्थानीय बासिन्दा गरी एकसय जनाले हातमा कुचो र हसिँया लिएर सरफाईमा जुटेका छौँ ।’ धरान स्थित रेडक्रसका अधिकृत शिवराम खड्काले बताऊनु भयो । उहाँले भन्नुभयो ‘‘१५ नं वडामा विहिबार, ८ नम्वर वडामा शुक्रबार र १७ नम्वर वडामा शनिवार विहान अभियानकै रुपमा घरदैलो गरियो । नेपाल रेडक्रस सोसाइटीका सभापती उमेश थापा, मन्त्री मुकुल कयस्थ, वार्ड अध्यक्ष लगायत शिक्षक, विद्यार्थीहरु, टोल विकास संस्थाहरु सक्रिय छौँ ।’’

यो प्रकोप धरानको अतिरिक्त इटहरी, विराटनगर र झापाका शहरी क्षेत्रमा पनि देखा परेको र ५०० वढी मानिसहरुमा फैलिएको जानकारी आएको नेरेसोका सञ्चार निर्देशक दिव्य राज पौडेलले बताउनुभयो ।

अहिलेको डेँगु एशियन टाइगर भनेर चिनिने छिर्केमिर्के, टाटेपांग्रे लामखुट्टेले फैलाएको बताइएको छ । उज्ज्यालोमा टोक्ने, सफा पानीमा फूल पार्ने भएकोले दिउसो पनि ख्याल गर्नुपर्ने र जम्मा गरिएको सफा पानीलाई हटाउने वा राम्रोसंग हावा नछिर्ने गरी व्यवस्थित भण्डार गर्नुपर्ने विज्ञहरुले सुझाएका छन् ।

आठवटा केशहरु झापामा देखिइसकेको प्रतिवेदन झापा रेडक्रसका सभापति लोकराज ढकालले दिनुभएको छ । रगतको आपुर्ति गर्नुपर्ने भएमा रेडक्रसले आपत्कालीन भण्डार गरेको ढकालले बताउनुभयो । त्यस्तै विराटनगरमा पनि स्थानीय प्रशासन, स्थानीय सरकार र रेडक्रसलगायतका संस्थाहरुको संयुक्त वैठक गरी सचेतना कार्यक्रम अघि बढाउने सहमति भएकोे मोरङ रेडक्रसका सुवोध सिं ले बताउनु भयो । उहाँले भन्नुभयो ः सचेतनाको लागि पर्चा टाँस्ने काम सुरु गरिसकिएको छ ।

प्रदेश सरकार सक्रिय
प्रदेश सरकारका मन्त्रीहरुको समुपस्थितिमा धरानमा वैठक वसेको र नगरपालिका लगायत सरोकारवाला सवै संस्थाहरुले संयुक्त एक्सन प्लान (कार्ययोजना) बनाई कार्य गरिरहेको धरान रेडक्रसले जानकारी दिएको छ ।