स्व. गुरु श्यामसुन्दर ‘मेरो जीवनको रोलमोडेल’

1672
views

रिना खनाल

मनमा धेरै कुरा खेलिरहेका छन् । ती कहाँबाट, कसरी सुरु गरुँ ? यो लेख लेखिरहँदा निकै डराइरहेको छु । हात काँपिरहेको छ । ……..त्यो हँसिलो अनुहार, शालीन व्यक्तित्व । हामीसँगै हाँसिरहेको जस्तो । त्यो आवाज, यी कानमा गुञ्जिरहे जस्तो । लाग्छ, तपाईँ यतै हुनुहुन्छ ! यथार्थमा यी सबै अनुभव भान सावित भइसकेका छन् ।

म आज जुन अवस्थामा छु तपाईँकै कारणले सम्भव भएको हो । तपाईँकै कारण सम्मान, खुसी र सन्तुष्टि मिलेको छ । संसारको विकास दिन प्रतिदिन भइरहेको छ । गतिशीलताको उपज हो यो । तर हरेक सफल व्यक्तिको पछाडि गुरुहरुकै हात रहेको हुन्छ । गुरुले अक्षरको बाटो नहिँडाएको भए कसरी संसारका हरेक व्यक्ति सफलताको गन्तव्यमा पुग्न सक्छन् र ? जसरी जगबिना घर बलियो हुँदैन, उसैगरी असल गुरुबिना संसारमा व्यक्तित्वको भवन बन्दैन ।

जतिसुकै गोरु बनाएर चुटिचुटी पढाए पनि गुरु महान नै हुन्छन् । गुरु जिन्दगीका घाम हुन । तपाईंले पढाउनु भएका व्यक्तिहरु आज विभिन्न ओहोदामा आसिन छन् ।

जतिसुकै गोरु बनाएर चुटिचुटी पढाए पनि गुरु महान नै हुन्छन् । गुरु जिन्दगीका घाम हुन । तपाईंले पढाउनु भएका व्यक्तिहरु आज विभिन्न ओहोदामा आसिन छन् । कसैले नाम लिँदा त्यसै त्यसै हर्षले भावविभोर हुन्छु । तपाईँप्रति सम्मान अर्पण गर्ने धेरै छन् । तपाईँ जस्तो गुरु अरु कोही छैन जस्तो लाग्छ । तपाईंकै प्रेरणाले गर्दा त अहिले दर्जनौँ सामाजिक संस्थामा क्रियाशील छु । २०७१ जेठ २४ गते मेरा प्रिय गुरु श्यामसुन्दर श्रेष्ठ तपाईं भौतिक शरीर छोडेर विदा हुनुभएको छ । तर असीम सम्झना यहीं छन्, अविस्मरणीय । अजम्बरी सम्झना भएर मेरो जीवनका ‘रोलमोडल’ सम्मानित गुरु, मेरा गुरु श्यामसुन्दर ।

२००७ कात्तिक ६ गते नुवाकोटको ऐतिहासिक स्थल भुटोल बजारमा जन्मनु भएका श्यामसुन्दरले प्रारम्भिक शिक्षा स्थानीय भैरबी मिडिल स्कुलबाट अघि बढाउनु भयो । २०२३ मा त्रिभुवन त्रिशुली हाइस्कुलबाट प्रवेशिका उत्तीर्ण उहाँले नेपाल कर्मश क्याम्पसबाट आइकम र त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा कला शंकायमा स्नातक गर्नु भयो । अध्ययन पश्चात जिल्लामा फर्किएर २०३३ देखि निम्नमाध्यमिक तहबाट शिक्षण पेशामा प्रवेश गुर्न भएका उहाँले क्षेत्रपाल माध्यामिक विद्यालयमा अध्यापन गराउन थाल्नु भयो । पछि भैरवी माविमा अध्यापन गराउन थाल्नु भयो ।

२०४३ देखि २०६७ सम्म प्रध्यानाध्यापक को रुपमा उहाँले भैरवीको कुशल नेतृत्व गर्नु भयो । उहाँकै नेतृत्वमा भैरवी उच्च मावि भएको थियो । शिक्षण पेशाबाट अवकास पाएपछि समाजसेवामा समर्पित रहँदै सोही विद्यालयको व्यवस्थापन समितिको अध्यक्षसमेत बन्नु भयो । आफ्नो कर्म र कर्मथलोलाई औधी माया गर्ने उहाँ प्राविधिक शिक्षामार्फत विद्यालयलाई अग्रणी शैक्षिक केन्द्रमा रुपान्तरण गर्न सँधै जोड दिनुह्न्थ्यो । विद्यालयप्रति उहाँको गहिरो लगाव थियो । सबै व्यक्तिसँग मित्रवत व्यवहार गर्नु हुन्थ्यो उहाँ । यही असल व्यवहारले उहाँ शैक्षिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा स्थापित हुन सफल हुनु भएको थियो ।

प्रगतिशील बाम विचारलाई आत्मसाथ गरे पनि उहाँ सबै विचारलाई समेटेर अघि बढ्नु पर्ने मान्यता राख्नु हुन्थ्यो । २०४९ को स्थानीय निर्वाचनमा बामपन्थी खेमाबाट साझा उम्मेदवारको रुपमा मेयरमा प्रस्तावित गर्दा उहाँले शिष्टतापूर्वक अस्विकार गर्नु भयो । बरु शिक्षण पेशालाई मर्यादित र थप मजबुत बनाउँदै ०६५/६६ मा शिक्षक संगठनको अध्यक्ष बन्नु भयो । थोरै शब्द र व्याख्यामा धेरै भाव व्यक्त गर्ने शिक्षण कलामा निपूर्ण उहाँ सबैको लोकप्रिय हुनुहुन्थ्यो । जुन भूमिकामा रहे पनि उहाँले इमान्दारितापूर्वक आफ्नो दायित्व निर्वाह गर्नु भयो । नैतिक तथा चारीत्रिक हिसाबले निष्कलंक उहाँ कहिल्यै व्यक्तिगत स्वार्थको पछाडि लाग्नु भएन । बरु जीवनको अन्तिम घडीसम्म समाजकै हितका लागि काम गरिरहनु भयो ।

उहाँ श्याम सरको नामले जिल्लाभर नै प्रख्यात हुनुहुन्थ्यो । सँधै सकारात्मक सोँचबाट प्रेरीत उहाँ कसैलाई नबिझाउने खालको हुनुहुन्थ्यो । नुवाकोट दरवार क्षेत्रमा संग्राहलय, पुस्तकालय र तुलजा भवानी पार्कलाई व्यवस्थित गर्न उहाँको उत्तिकै योगदान छ । कहिल्यै आर्थिक प्रलोभनमा नफस्नु भएका उहाँ नैतिक मूल्यमान्यता र तथा बैचारिक रुपले दृढ हुनुहुन्थ्यो । कहिल्यै बिचलित नहुने दृढताकै कारण उहाँले जिल्लामा अगुवा सामाजिक व्यक्तित्वको छवि निर्माण गुर्न भएको थियो । जिल्लामा मात्र नभइ राष्ट्रिय रुपमा नै उहाँले पहिचान बनाउनु भएको थियो ।

शिक्षण पेशामा लागे पनि सामाजिक काममा समेत उहाँको सक्रियता उत्तिकै रह्यो । पछिल्लो समय उहाँ जिल्लाको विकास गर्नु पर्छ भनेर नुवाकोट सम्पदा गाँउ, होमस्टे राष्ट्रिय सञ्जाल, नेपाल क्षयरोग जिल्ला शाखाका साथै नेपाल रेडक्रस सोसाइटी उपशाखामा आवद्ध रही सामाजिक काममा क्रियाशील हुनुहुन्थ्यो । जिल्लाको सम्पदाको संरक्षण र सम्बद्र्धन गरी पर्यटन व्यवसायमार्फत आर्थिक तथा सामाजिक विकास गर्नुपर्नेमा उहाँ सदैब जोड दिनुहुन्थ्यो ।

दर्जनौँ सामाजिक संस्थामा क्रियाशील श्यामसुन्दर सबैका साझा र विश्वासका पात्र हुनुहुन्थ्यो । आफ्नो इमान र कर्तव्यप्रति विश्वास राख्नुहुन्थ्यो । उहाँ त्यस्तो व्यक्ति हुनुहुन्थ्यो, सबैलाई मित्रवत् र साथीको रुपमा व्यवहार गर्नुहुन्थ्यो । आफू मात्रै बन्ने काम त जसले पनि गर्छन् । अरुलाई आँखा देखाउने र ज्ञान बाँड्ने काममा जिन्दगी नै खर्चनु भयो उहाँले ।

विकासका गतिविधिको कुरा गर्दा अहिले पनि सबैका मुखबाट तपाईंको नाम उच्चारण हुन्छ । श्यामसुन्दर सर, तपाईँले देखाउनु भएको असल बाटो अझै हिँडिरहेको छु । समाजको अन्धकार हटाउन उहाँ जस्तो असल गुरुले देखाएकोे बाटोमा हिँड्न पाउनु गौरवको विषय हो । बाबु–आमाले भौतिक आकार दिन्छन्, तर गुरु तपाईँले जीवन देखाउनु भयो । संसार चिनाउनु भयो । त्यसैले उहाँ मेरो रोलमोडल हुनुहुन्छ । उहाँकै प्रेरणाले आज यहाँसम्म आइपुगेको छु ।

उहाँकै शालीनता, ओझपूर्ण व्यक्तित्वले मेरो जीवनको पे्ररणा भरेको हो । गुरुलाई साक्षत् भगवानको रुपमा पूजिने संस्कारमा केही परिवर्तन आएको अनूभव गरिरहेको छु । यद्यपी जस्तो गुरु उस्तै चेला भने झँै गुरुबाट प्राप्त शिक्षा र ज्ञानले मानिसले आफूलाई बदल्न सक्छ । शान्त, सौम्य र ऋषितुल्य श्यामसुन्दर गुरुको चेला (विद्यार्थी) हुन पाउँनुलाई भाग्यमानी ठानेको छु । उहाँ मेरा शिक्षक त हुनु हुन्थ्यो नै । त्योभन्दा बढी एउटा अभिभावकले जसरी असल काम गर्न हौस्याउँने घनिष्ट साथी पनि हुनुहुन्थ्यो । सँधै सम्झिरहने छै गुरु, यहाँलाई हार्दिक श्रदासुमन ।