वडाको दशलाख बजेट खोज्दै वडा सदस्य

2131
views

पर्वत । कुश्मा नगरपालिका वडा नं–७ मा कार्यालय सञ्चालनका लागि विनियोजित दशलाख रुपैयाँ बजेट कहाँ र कसरी खर्चिएको हो भन्दै वडासदस्यले उक्त रकमको खोजी गरेका छन् । वडा कार्यपालिकाको बैठकले गरेको निर्णय विपरित वडा अध्यक्षले आफुखुसी दशलाख रुपैयाँ खर्च गरेको भन्दै विल भर्पाइको माग गरेको वडा सदस्य परशुराम पुरीले जानकारी दिए ।

आर्थिक अप्रचलनका कारण गतवर्ष तीस भन्दा बढी ठूला आयोजनाहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेका बेला चालु आवमा समेत दशलाख रुपैयाँ हिनामिना भएको भन्दै वडा सदस्यले विल भर्पाइको माग गरेको पुरीले बताए ।

सो रकम नगरपालिका मार्फत वडा कार्यालय सञ्चालनका लागि रकम विनियोजित भएको तर बजेट हिनामिना भएपछि वडा कार्यपालिकाको वैठक समेत बस्न सकेको छैन् ।

वडा सदस्य परशुराम पुरीका अनुसार वडा सदस्यहरुले एकसातादेखी विल भरपाई माग गरिएको भएपनि वडा अध्यक्ष सुवासचन्द्र पौडेलले बजेट अनुसार खर्चको विल भरपाई उपलब्ध नगराएपछि बैठक बस्न सकेको छैन् ।

वडा कार्यपालिकाको बैठकको निर्णय भन्दा बाहिर रहेर वडा अध्यक्षले आँफुखुसी खर्च गर्नुभएछ, वडाको बैठकमा वडासदस्यहरुले विल भरपाईका लागि एकहप्ताको समय दिएका थियौं, तर उपलब्ध हुन नसकेपछि वडा अध्यक्ष र सचिवसँग बजेट अनुसारको विल भरपाई माग गरीएको पुरीले बताए ।

वडा सदस्यले माग गरेको विल भर्पाइ उपलब्ध नभएपछि वडाको कुनैपनि वैठकहरु सुचारु हुन सकेको छैन । कुश्मा वडा नं–७ मा गएको वर्ष ५१ लाख बराबरको बजेट कार्यान्वयनमा आएको थियो भने चालु वर्षमा ७० लाख बराबरको बजेट कार्यान्वयमा रहेको छ । जसमध्ये दशलाख रुपैयाँ कार्यालय सञ्चालनका लागि नगरपालिका मार्फत वडा समितिले विनियोजन गरेको थियो ।