चार दिनदेखि उडान नहुँदा लुक्ला पुगेका यात्रु अलपत्र

711
views

सोलुखुम्बु । मौसम प्रतिकुलका कारण तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान भएको छैन् । उडान नहुँदा यात्रु अलपत्र परेका छन् ।

विहानैदेखि हल्का पानी र बाक्लो हुस्सुले विमानले उडान भर्न नसकेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले जानकारी दिए ।

सोमबार सात उडान तालिका भए पनि एउटा पनि उडान भएन । उडान प्रभावित हुँदा करीब २०० स्वदेशी तथा विदेशी यात्रु लुक्लामै बस्न बाध्य भएका छन् ।

खुम्बू क्षेत्र भ्रमणमा आएका पर्यटकले प्रयोग गर्ने विमानस्थलको विकल्प नहुँदा पनि यात्रुलाई समस्या भएको हो । केही यात्रु लुक्लाबाट पैदल हिँडेर सल्लेरी हुँदै गाडीमार्फत काठमाडौँ गएका छन् भने अन्य यात्रु मौसम अनुकूल हुने पर्खाइमा बसेका छन् ।

सगरमाथासहित विभिन्न हिमालको अवलोकन गर्न आउने पर्यटकका लागि हवाई यात्राबाहेकको विकल्प छैन् ।