नुवाकोट साततले दरबारको पूननिर्माण सुरु

2666
views

रिना खनाल
नुवाकोट । विनाशकारी भूकम्पले क्षतिग्रस्त नुवाकोटको साततले दरबार क्षेत्रमा रहेको सम्पदाको पुनर्निर्माणको काम सुरु भएको छ । २०७२ साल बैशाखमा गएको शक्तिशाली महाभूकम्पले नुवाकोटस्थित साततले दरवार लगायतका सम्पदाहरुमा क्षति पुगेको थियो । भुकम्पले चारवर्ष अगाडि भत्किएको सो संग्रहालयको पुननिर्माण चीनले केही दिन देखि सुरु गरिरहेको छ ।

तस्विरः समिक्षा डङ्गोल


विनाशकारी भूकम्पपछि चीन सरकारले गत २०७२ साल साउन महिनामा नेपाल कम्युनिस्ट पार्टीका नेता तथा तत्कालीन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको पहलमा चीनका राजदुतसहितको टोलीले साततले दरवार राष्ट्रिय संग्रहालयमा पुगेर दरवार मर्मतका लागि प्रतिवद्धता जनाएको थियो ।

चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले साततले दरबारसहित वरिपरिका सास्कृतिक तथा पुरातात्विक महत्व बोकेको दरबार र मठमन्दिरको सर्भेक्षण सम्पन्न गरे पछी कार्य सुरु गरिएको दरबार हेरचाह तथा संरक्षण कार्यालय नुवाकोटले जनाएको छ । दरबारको पुनः निर्माणको लागि चिनियाँ प्राबिधिकहरुले पटक पटक दरबार क्षेत्रको सर्भेक्षण सुरु गरेका थिए । चिँनिया प्राविधिक टोलीले साततले दरवारको स्थलगत रुपमा ड्रोन क्यामेरामार्फत स्थलगत निरीक्षण गरेको थियो ।

सर्वेक्षण पश्चात नुवाकोट दरबार क्षेत्र भित्रका साततले दरवार, गारद घर, रंगमहल, बहादुर शाहको बैठक कक्ष (हाल तस्बिर मात्र देख्न सकिने) लगायत दरवार कम्पाउण्डभित्र रहेको बिष्णु र नारायण मन्दिरको पूननिर्माणको काम शुरु भएको स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालयका प्रमुख अर्जुन प्रसाद फुयाँलले जानकारी दिए । त्यस्तै तलेजु भवानी मन्दिरका दरबारको दक्षिणतर्फ रहेको माता भैरवी मन्दिर आसपासमा रहेको सेतो पाटी र लामपाटी पनि चीन सरकार कै मातहतमा बनाइने फुयालले बताए ।

पृथ्वीनारायण शाहले १८०१ साल असोज १५ गते नुवाकोट टाकुरेमाथि तेश्रो प्रयासमा विजय गरिसकेपछि सेनाद्वारा १८१६ सालमा साततले दरवार निर्माण गरेका थिए । गीर्वाणयुद्ध विक्रम शाहको पालामा २५ वर्षसम्म सोही दरवारबाट नेपालको शासनसत्ता सञ्चालन भएको थियो ।