कहाँ भेटिएला ईश्वर ?

1248
views

जितेन्द्र थापा
दैलेख । दैलेखको ठाटिकाँध गाउँपालिका–२ साविक खातिगाउँ वडा नं ६ का रङ्ग विक र मैसरा विक यतिबेला ईश्वरको खोजीमा छन् । धन हुनेसँग मन छन्न्, मन हुनेसँग धन ! छोराको उपचारका लागि विक परिवार सहयोगी हातको खोजीमा छन् । कमाई गर्ने छोरा प्रदेशबाट बिरामी भएर फर्किएपछि कमाईको आशा भन्दा उपचारको दशा लागेको छ यतिबेला यो परिवारलाई ।

आर्थिक अवस्था नाजुक भएको यो परिवारको कमाई गर्ने सपना केवल सपनामै सिमित भएको छ । उनीहरुसँग जग्गा जमिनका नाउँमा १ कट्ठा मात्रै छ । परिवारमा कमाई गर्ने छोरा अपाङ्ग भएपछि उनीहरुको अवस्था झन दुःखदायी बनेको छ । परिवारमा भएका अरु चार छोराछोरी स–साना छन् । कमाई गर्न भारत गएको छोरा लोकेन्द्र विकका दुबै खुट्टा नचल्ने भएर फर्किएपछि त झन अहिले समस्या उत्पन्न भएको छ । अहिले लोकेन्द्रकै उपचारका लागि आर्थिक संकट भएको छ ।

१३ बर्षको उमेर २०७४ सालमा भारतको उत्तराखण्ड जोइसिमोडमा रोजीरोटीका लागि गएका उनी कमाएर फर्किएलान भन्दा अपाङ्ग बनेर फर्किएपछि उनको परिवार उपचारका लागि आर्थिक जोहोमा जुटेको छ । भारतमा रहँदा पनि लेबर काम गर्दै आएका लोकेन्द्रलाई सडकमा काम गर्दैगर्दा सडकमाथिबाट ढुङ्गा खस्दा उनको टाउको र खुट्टामा गहिरो चोट लाग्यो । त्यहि चोटका कारण उनी अपाङ्ग बनेका हुन् । सरसापटी गरेर उनको उपचार त गरियो तर, खर्चले नधानेपछि उनलाई घरमा ल्याईयो ।

बिरामी अवस्थामै नेपाल आएका उनलाई नेपालगंजको फिजियो केयर हस्पिटल रोड नेपालगंजमा उपचार गरियो । उनको पूर्ण रुपमा उपचार हुन सकेन । त्यसपछि उनलाई काठमाडौ लगियो । काठमाडौमा पनि आर्थिक संकट परेपछि उनको उपचारमा समस्या भएको छ ।

लोकेन्द्रकी आमा मैसरा दुईलाख रुपैयाँ ऋण काढेर छोराको उपचार गर्न काठमाडौं गएकी थिईन् । उनले ऋण काढेर लगेको दुईलाखले उपचार खर्च नपुगेपछि फेरी गाउँ फर्केका छन् । आमा मैसरा विक छोराको त्यो अवस्था देखेर आँशु झार्दै अहिले सहयोगी हातहरुसँग सहयोग उठाईहेकी छिन् । उपचार गर्न सके लोकेन्द्र पून हिंडडुलसँगै बोल्नेसक्ने डाक्टरहरुले सुझाएका छन् ।

डाक्टरहरुको यो आश्वासनले उनी छोराको उपचारका लागि आवश्यक रकम उठाउन ईश्वररुपी सहयोगीको खोजीमा छिन् । छोराको उपचारको लागि दिनरात खटेकी मैसरा गहभरी आँशु झार्दै भन्छिन् ‘लोकेन्द्रलाई उपचारको खाँचो छ, उसको उपचारको लागि सहयोग गर्ने मानिस मेरो लागि भगवान हुनेछ ।