कर्णाली नदीमा बेपत्ता ९ जनाको पुत्ला बनाएर दाहसंस्कार

794
views

सुर्खेत । कर्णाली नदीमा जिप खसेर बेपत्ता भएकी खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाही लगायत ९ जना बेपत्ताको पुत्ला बनाएर बिहीबार दाहसंस्कार गरिएको छ । मंगलबार खार्पुनाथ गाउँपालिकाको खार्पु दोभानबाट याङ्चु जाने क्रममा बेडु बिसाउनी र कैल्याबालुमा महेन्द्र बोलेर जिप खस्दा उपाध्यक्ष शाहीसहित ११ जना बेपत्ता भएका थिए ।

बेपत्ता जीप र शवको खोजी कार्यमा कुनै प्रगति नभएपछि बिहीबार स्थानीयको माग अनुसार बेपत्ता भएका ९ जनाकै कुशको पुत्ला बनाएर दाहसंस्कार गरिएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण राववले जानकारी दिए ।

जिप दुर्घटनामा यात्रुको शव नभेटिएपछि बिहीबार एउटै चितामा ४ जनाको पुत्ला बनाएर अन्त्येष्टि गरेको खार्पुनाथ गाउँपालिका–५ का वडा अध्यक्ष भिमराज शाहीले बताए । बेपत्ताका आफन्तहरूले हिन्दु परम्पराअनुसार कुश र परालको पुत्ला बनाएर अन्त्येष्टि गरेका हुन्। खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु हमाल, नन्दादेवि सिंह, बसन्ती शाही, गोकुल सुनारको पुत्ला बनाएर अन्त्येष्टि गरिएको हो ।

यस्तै चन्द्र हमाल, जिप चालक मणि शाही, नैनसिंह भण्डारी, बसन्ती शाही, कौरा दमाई र उनको २ वर्षीय छोरालगायतकोको हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको छ। जीप दुर्घटनामा बेपत्ता भएका ओल्डिङ मिस्त्री काठमाडौंका राजु श्रेष्ठ र एक जना नाम नखुलेकाको भने दाहसंस्कार गरिएको छैन ।

बुधबार अपरान्ह साढे १ बजेदेखि घटनास्थलमा पुगेको गोताखोरको टोलीले लगातार दुई दिनसम्म खोज्दा पनि नभेटिएपछि हिन्दु धर्म अनुसार आफन्तले बेपत्ता भएका खार्पुनाथ गाउँपालिकाका–९ जनाको आज छुट्टाछुट्टै दाहसंस्कार गरेका छन ।

अध्यक्ष रावलका अनुसार बेपत्ता भएकी खार्पुनथाकी उपाध्यक्ष सिन्धु हमाल शाहीको पुत्लामा उनका पति धिरेन्द्र शाही र छोराले दागबत्ती दिएका छन् । आफन्त र गाउँपालिकाका स्थानीयको उपस्थिति भएको दाहसंस्कारमा पालिका अध्यक्ष रावलले राष्ट्रिय झण्डा ओढाएका छन् भने नेपाली कांग्रेसका जिल्ला सचिव मोहनविक्रम सिंहले नेपाली कांग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् ।