इरान–अमेरिका तनावः इरानमाथि हमला गर्ने अनुमति फिर्ता

492
views

सुरुमा इरानमाथि हमला गर्न अनुमति दिएका ट्रम्पद्वारा आदेश फिर्ता लिएको समाचारहरू आएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि हमला गर्न बिहीवार स्वीकृति दिएपनि पछि तत्काल आक्रमण नगर्न आदेश दिएको समाचारपत्रहरूले लेखेका छन् ।

द न्यूयोर्क टाइम्सले राष्ट्रपति कार्यालय ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूलाई उद्धृत गर्दै इरानका केही ठाउँलाई निशाना बनाउने योजना बनाएको भनेको छ । योजना सुरुवाती स्तरमै हुँदा ट्रम्पले अमेरिकी सेनालाई निराश बनाएको समाचारहरूमा उल्लेख छ ।

पत्रिकाका अनुसार सो आक्रमण इरानले अमेरिकी ड्रोन खसालेको बदलामा गर्न लागिएको थियो ।

ड्रोन खसालेर इरानको गल्ती
इरानले जमिनबाट क्षेप्यास्त्र प्रहार गरेर अमेरिकी सेनाको एउटा ड्रोन बिहीवार बिहान खसालिदिएको थियो । इरानले आफ्नो आकाशमा आएकाले खसालिएको बताएको छ भने अमेरिकाले उक्त ड्रोन अन्तर्रा्ष्ट्रिय आकाशमै रहेको बेला खसालिएको आरोप लगाएको छ ।

अमेरिका र इरानबीच तनाव चुलिरहँदा यो घटना भएको हो । न्यूयोर्क टाइम्सले सबैभन्दा पहिले सो योजना बारे बिहीवार राति समाचार प्रकाशित गरेको थियो। पछि अन्य अमेरिकी पत्रिकाहरूले पनि आफैँले तथ्य सङ्कलन गरेर त्यही कुरा लेखे ।

न्यूयोर्क टाइम्सका अनुसार बिहीवार बेलुकी सात बजेसम्म पनि अमेरिकी सेना र कूटनीतिज्ञहरू इरानका राडार र क्षेप्यास्त्र ब्याट्रीहरू भएका स्थानमा आक्रमण गरिने अपेक्षामा थिए ।

इरानले खसालेको ड्रोनको तस्बिर अमेरिकी सेनाले सार्वजनिक गरेको छ । न्यूयोर्क टाइम्सले लेखेको छ, “हवाइजहाजहरू उडिरहेका थिए, जहाजहरू आवश्यक स्थानमा थिए तर पछाडि हट्ने आदेश आएकाले कुनै क्षेप्यास्त्र प्रहार भएन । सो हमला इरानी नागरिकहरूलाई क्षति नपुगोस् भनेर शुक्रवार बिहानै गर्ने योजना गरिएको थियो ।

सो हमला फेरि हुने वा नहुने कुरा स्पष्ट छैन । ह्वाइट हाउस र रक्षा मन्त्रालय रहेको पेन्टागनले समाचारमाथि कुनै प्रतिक्रिया दिएका छैनन् ।

स्ट्रेइट अफ होर्मुजमाथिको अन्तराष्ट्रिय आकाशमा रहेको अमेरिकी सेनाको एउटा ड्रोनलाई इरानको इस्लामिक रिभोलुसनरी गार्डस् कोर (आइआरजिसी) ले बिहीवार सबेरै खसालेको हो । मानवरहित उक्त ड्रोन विमान आफ्नो हवाई क्षेत्रमा आएकाले खसालिएको इरानको भनाइ छ। उसले सो ड्रोनका टुक्रा आफ्नो समुद्री क्षेत्रबाट बटुलेको पनि बताएको छ ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिवले बुधवार तेहरानले आफ्नो आकाशमा बिना अनुमति उडान हुन नदिने बताएका छन् । सोमवार अमेरिकी रक्षा मन्त्रालयले इरानी सुरक्षाबलले ’उत्तेजक व्यवहार’ देखाएको भन्दै थप एक हजार अमेरिकी सेना त्यसतर्फ खटाउने बताएको थियो ।

अमेरिकाले बिहीवारै अमेरिकी वायुसेवाहरूलाई इरानी आकाशको नजिकै जहाज नउडाउन आकस्मिक निर्देशन दिएको छ ।

ट्रम्पले के भने ?

राष्ट्रपति ट्रम्पले इरानले भयङ्कर गल्ती गरेको तर त्यो अन्जानमा भएको हुनसक्ने टिप्पणी गरेका छन् । ड्रोन खसाल्ने काम ’सायद केन्द्रीय आदेश बिना कोही मूर्खले गरेको हुन सक्ने’ उनको भनाइ थियो ।

तर उनले त्यो काम ठूलो गल्ती भएको दोर्होयाएका छन्। ट्रम्पले उक्त ड्रोन अन्तर्रा्ष्ट्रिय जल क्षेत्रमा रहेको दोर्होयाएका छन् । ट्रम्पले भने, “यो केवल शब्दमात्र होइन यसबारे पूरै वैज्ञानिक दस्तावेज हामीसँग छ ।’ बीबीसी