अंगरक्षकद्वारा सेनाप्रमुखको गोली हानी हत्या

448
views

इथियोपियाका प्रधानसेनापति सियर मेकोनेनको उनकै अंगरक्षकले गोली हानेर हत्या गरेको इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले बताएका छन् । टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अहमदले अम्हारा राज्यमा भएको असफल सैनिक सत्ता विद्रोहलाई भने सरकारले विफल बनाएको जानकारी दिए ।

उक्त गोलीकाण्डमा अम्हारा राज्यका अध्यक्ष अम्बाचे मेकोन्नेन र अरू केही उच्च अधिकारीको पनि हत्या भएको छ । अम्हाराका सुरक्षा प्रमुखको नेतृत्वमा सैन्य विद्रोह भएको प्रारम्भिक विवरणमा उल्लेख छ । सैनिक विद्रोह भएका कारण इथियोपियाको इन्टरनेट सेवा देशैभर बन्द गरिएको छ ।

घटनाको विस्तृत विवरण अझै प्राप्त भइसकेको छैन । संयुक्त राज्य अमेरिकाको दूतावासले राजधानी आदिस अबाबाका विभिन्न भागमा गोली चलेको जनाएको छ । प्रधानमन्त्रीको कार्यालयले पनि इथियोपियाको दोस्रो ठूलो शहर अम्हारामा सैनिक विद्रोह भएको घोषणा गरेको थियो । मुलुकका नौवटा स्वायत्त क्षेत्रमध्ये अम्हारा दोस्रो ठूलो रहनुका साथै यसको सीमा सुडानसँग जोडिएको छ ।

आक्रमणमा जिम्मेवार पक्षबारे थाहा भइनसकेको पनि प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । इथियोपियालाई स्थायित्व दिने र सुधारतर्फ अग्रसर गराउने प्रधानमन्त्री अहमदको योजनामा पछिल्लो घटनाले ठूलो चोट पु¥याएको छ । प्रधानमन्त्री कार्यालयको वक्तव्यमा अम्हारामा भएको सैनिक विद्रोह असंवैधानिक रहेको र निकै प्रयत्नबाट हासिल गरिएको शान्तिलाई ध्वस्त पार्न खोजिएको उल्लेख छ ।