हातखुट्टा भाँचेर हत्या गरिएको हो, मुठभेड होईन–शर्मा

909
views

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद जनार्दन शर्माले प्रहरीबाटै आएको फोटो र तथ्यले सर्लाहीमा मारिएका विप्लव समूहका कार्यकर्ता कुमार पौडेलको मुठभेडमा मृत्यु नभएको दाबी गरेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शर्माले पौडेलेको प्रहरीले नै हत्या गरेको दाबी गरे ।

‘फोटो तथा तथ्य हेर्दा मुठभेड हो भन्ने लाग्दैन’, शर्माले भने,‘पहिला हात खुट्टा भाँचेर पछि गोली हानिएको अवस्था फोटोमा देख्न सकिन्छ ।’ पौडेलको हत्यापछि सामाजिक सञ्जालमा राखिएका फोटोहरू प्रहरीले नै उपलब्ध गराएको दाबी गरे ।

‘सामाजिक सञ्जालमा आएका फोटाहरू जनताले खिचेको त हैन होला, फोटो प्रहरीले नै दिएको हो’, उनले भने, ‘फोटो हेर्दा पहिला हात खुट्टा भाँचेर गोली हानिएको अवस्था छ । के गोली हानेपछि हात खुट्टा भाचिएको त हैन होला ! यो कसरी मुठभेड हुनसक्छ ?’

शर्माले कुमार घटनालाई माओवादीले गरेको दशवर्षे जनयुद्धको घटनाजस्तै भएको भन्दै अप्रेसनका नाममा तत्कालीन समयमा प्रहरीले आफ्ना सहयोद्धाको हत्या यसरी नै गर्ने गरेको समेत सम्झिए । उनले यस्ता घटना घटाउनअघि न्यूनतम मानवअधिकारको कार्यान्वयन गर्न प्रहरीलाई आग्रह गरे ।

पूर्वगृहमन्त्रीसमेत रहेका शर्माले गृहमन्त्री थापाले दिएको जवाफ मन नपरेको भन्दै तलबाट आएको रिर्पोटका आधारमा आएको औपाचारिक जवाफ भने ।