राष्ट्रपति भण्डारीद्वारा संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

559
views

काठमाण्डौ, ११, जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले व्यवस्थापिका–संसद्मा सरकारको आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रमको प्रति राष्ट्रपति भण्डारीसमक्ष पेस गर्नुभएको थियो ।
मन्त्रिपरिषद्का यही जेठ ७ गतेको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो । यस वर्षको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयनसहित सङ्घ र प्रदेशसभाको निर्वाचन तथा राष्ट्रिय गौरवका आयोजनालाई विशेष प्राथमिकता दिइएको छ । नीति तथा कार्यक्रममा दिगो आर्थिक वृद्धि, स्वरोजगार, उज्यालो नेपाल अभियान जस्ता विषयहरु समेटिएका छन् ।
निर्वाचन आचारसंहिता लागू भएकाले सरकारले यस वर्षको नीति तथा कार्यक्रममा नयाँ योजना नभई गत वर्षका कार्यक्रमलाई नै निरन्तरता दिएको छ ।
प्रधानमन्त्री दाहालले आफ्नो पदबाट राजीनामा गर्नुभएको भोलिपल्ट राष्ट्रपति भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
वर्तमान सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचन अघि नयाँ कार्यक्रम नल्याउने र विगतका कार्यक्रमलाई नै निरन्तरता दिने जानकारी दिइसकेको छ ।
संसद् भवनमा आउनु हुँदा राष्ट्रपति भण्डारीलाई सभामुख ओनसरी घर्ती, उपसभामुख गङ्गाप्रसाद यादव र संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टले स्वागत गर्नुभएको थियो । सो अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।