कुनपा–७ मा अख्तियारले छानविन थाल्यो

1707
views

पर्वत । कुश्मा नगरपालिकाको वडा नं ७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय पोखराले अनुसन्धान थालेको छ । वडा सदस्य परशुराम पुरीले वडा कार्यालयको १० लाख रुपैयाँको विल भरपाई नै नदेखाएर वडा बैठकको निर्णय विपरित अध्यक्षले आँफुखुसी खर्च गरेको भन्दै सञ्चार माध्यममा सार्वजनिक गरेपछि आयोगले छानविन थालेको हो ।

कुश्मा नगरपालिका वडा नं–७ का अध्यक्ष सुवासचन्द्र पौडेलले वडा कार्यालय सञ्चालनका लागि आएको बजेट १० लाख नभई आठलाख मात्र भएको बताएका छन् । पौडेलले अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरेको भएपनि वडा सदस्यहरुबाट जुन प्रकारको टिकाटिप्पणी आएको छ त्यो यथार्थ नभएको बताएका छन् ।

कुश्मा नगरपालिकाका कार्यकारी प्रशासकीय अधिकृत हरि पंगेनीले कुश्मा नगरपालिकाको वडा नं ७ मा प्रकाशित समाचारपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय पोखराले अनुसन्धान थालेको र वडाका सम्पूर्ण कागजातहरु लगिसकेकोले छानविनको अवस्थामा रहेको विषयमा बोल्न नमिल्ने बताए ।

अख्तियारले वडा नं ७ का आवश्यक कागजातहरु झिकाईसकेकोले वडा अध्यक्षबाट आफुखुसी भएको खर्चको विवरण पारदर्शि ढंगले सार्वजनिक हुनेमा वडासदस्यहरु विस्वस्त रहेको वडा सदस्य परशुराम पुरीले बताए ।

स्थानीय तह सञ्चालनमा आएको दुईबर्षपछि स्थानीय सरकारमा बढ्न थालेका अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेपछि स्थानीयको चासो बढेको छ ।