३३ किलो सुन प्रकरणः विराटनगर उच्च अदालतका न्यायाधीश सिंह बर्खास्त

647
views

काठमाडौं । न्यायपरिषदले विराटनगर उच्च अदालतका न्यायाधीश उमेशकुमार सिंहलाई बर्खास्त गरेको छ । तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका अभियुक्तको निवेदनमाथि सुनुवाइका क्रममा पदीय आचरण अनुसारको कर्तव्य निर्वाह नगरेको भन्दै बर्खास्त गर्ने निर्णय भएको हो ।

न्यायपरिषद्का अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षातामा सोमबार साँझ बसेको परिषद्को बैठकले सिंहलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

यस्तै, उच्च अदालत विराटनगरकै न्यायाधीश थीरबहादुर कार्की र साधुराम सापकोटाको बढुवा रोक्का गर्ने निर्णय भएको छ । कार्यसम्पादन प्रक्रिया चित्तशबुझ्दो नभएपछि दुई वर्षसम्मका लागि बढुवा रोक्का गरिएको हो ।

यसअघि न्यायाधीशद्वय कार्की र सिंहलाई गम्भीर प्रकृतिको संलग्न देखिएको भन्दै ७ दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको थियो । सुन तस्करीको अभियोगमा मुद्दा खेपेका आरोपितलाई न्यून धरौटीमा छुटेको आरोप लागेपछि छानविनमा रहेका अर्का न्यायाधीश सापकोटालाई भने परिषद्ले सचेत गराउँदै पत्र काटेको थियो ।

यसअघि न्यायपरिषद्ले मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित ५ न्यायाधीशलाई सफाइ दिएको थियो । भुर्तेल, न्यायधीशहरू सारगा सुवेदी, जनक पाण्डे, उमेशराज पौडेल र नागेन्द्र लाभ कर्णको उजुरी तामेलीमा राख्ने निर्णय भएको थियो ।