आहाराका आधारमा बाघको संख्या

703
views

काठमाडौंँ, २४, असार । विश्वमै दुर्लभ पाटेबाघले खाने आहारा प्रजातिको अवस्थिति पत्ता लगाउन भएको अध्ययनको स्थलगत कार्य सकिएपछि बाघको अध्ययनमा अझै सहज हुने भएको छ ।

नेपालमा पहिलोपटक भएको अध्ययनको नेतृत्व राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले लिएको हो । विश्वका अन्य क्षेत्रका घना जङ्गलमा संरक्षित वन्यजन्तुको सहायता गर्ने गरिन्छ । “फिल्डको काम सकेर अब तथ्याङ्क विश्लेषणको काम भइरहेको छ,” विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले भन्नुभयो, “विभिन्न ब्लकमा आहारा प्रजातिको अवस्थासँगै बाघका लागि चाहिने आहाराको आँकलन विश्लेषणपछि गर्न सकिन्छ ।’

विभागले सन् २०२२ सम्ममा नेपालमा पाटेबाघको सङ्ख्या दोब्बर गर्ने लक्ष्य लिएको छ । सन् २०१० मा बाघ पाइने १३ वटा देशको भेलाले सन् २०२२ सम्म सङ्ख्या दोब्बर पार्ने लक्ष्य लिएको थियो । सो लक्ष्यअनुसार वर्तमानमा रहेको आहाराको सङ्ख्याले धान्न सक्ने वा नसक्ने पत्ता लगाएर सुधार गर्ने योजना विभागले लिएको छ । बाघको जीवन निर्वाहका लागि आहारा प्रजातिको बलियो उपस्थिति अति जरुरी रहेको उहाँले औँल्याउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नौवटा टोली बाँडिएर वैशाख अन्तिम सातादेखि करिब एक महिना स्थलगत अध्ययन भएको थियो ।

आहारा प्रजातिको अध्ययनका क्रममा सीधा रेखामा हिँडेर वरिपरिका वन्यजन्तुको गणना गर्ने र दूरीका आधारमा भेटिने वन्यजन्तुको अभिलेख राख्ने गरी दुई विधि अपनाइएको श्रेष्ठले जानकारी दिनुभयो । एउटा टोलीमा अध्येता र सहयोगी गरी छ जना थिए । बाघको आहाराअन्तर्गत पर्ने चित्तल, जरायो, रतुवा मृग, लगुना, बँदेल, बाँदर, नीलगाई, गौरीगाई आदिको अवस्थिति विश्लेषणले निकाल्ने अनुमान गरिएको छ । “यतिबेला प्राविधिकले जङ्गलमा प्राप्त गरेका तथ्याङ्कको विश्लेषण धमाधम गरिरहेका छन,” राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम व्यवस्थापक नरेश सुवेदीले भन्नुभयो, “यसबाट नेपालका बाघका लागि आहारा पर्याप्त छ, छैन यकिन हुन्छ ।” अबको दुई हप्तापछि अध्ययन प्रतिवेदन तयार हुने उहाँले जानकारी दिनुभयो । आहारा प्रजातिको कमीका कारण बाघको सङ्ख्या बढोत्तरीमा अप्ठेरो नहोस् र मानव वन्यजन्तु द्वन्द्वको अवस्था नहोस् भन्नाका लागि पनि यस अध्ययनले महìव राख्ने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले बताउनुभयो ।

आहारा प्रजातिका लागि घाँसे मैदान, पानीको स्रोत लगायतका वातावरण निर्माण गर्न अध्ययनले सघाउने अर्यालले बताउनुभयो ।नेपालमा २३५ पाटेबाघ छन् । २०१८ मा बाघ गणना गर्दाताकाको एकमुष्ट अध्ययनको विश्लेषणले पर्सामा २२.२, चितवनमा ७७.७, बाँकेमा ८.१, बर्दियामा ७७.५१ र शुक्लाफाँटामा ६८.०४ प्रतिशत आहारा प्रजातिको जनघनत्व अनुमान गरिएको थियो । गोरखापत्र अनलाईनबाट