एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

674
views

क्यालालम्पुर । मलेसियामा भएको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । उपाधिसँगै नेपाल आगामी अगस्ट–सेप्टेम्बरमा श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपमा छनोट हुन सफल भएको छ  ।

मंगलबार भएको फाइनल खेलमा हङकङलाई ६ विकेटले हराउँदै नेपाल विजेता बन्न सफल भएको छ । हङकङले दिएको ९६ रनको लक्ष्य नेपाली युवा टोलीले १६.१ ओभरमा ४ विकेट गुमाएर पनि जित हात पारेको हो ।

नेपालको जितका लागि पवन सरार्फले ३९ रनको योगदान गरे । पवनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरे । रित गौतम १४ बलमा १३ र खडक बोहरा २२ बलमा ८ रन बनाएर आउट भए । कप्तान रोहितकुमार पौडेल १० बलमा १२ रन बनाएर आउट हुँदा भीम सार्की ८ रन बनाई नटआउट रहे । ६ बल सामना गरेका हरिबहादुर चौहानले रन जोड्न सकेनन् ।

हङकङका लागि रौनक कपुरले २, मोहमद हसन खान र हसन खानले नेपालको एक(एक विकेट लिए ।

क्वालालम्पुरको किनरारा मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको हङकङको युवा टोलीले ४३.१ ओभरमा अलआउट भई ९५ रन बनाएको थियो।

नेपालका सागर ढकाले एक्लैले हङकङको ५ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ५ मेडनसहित १८ रन खर्चिएर ५ किवेट लिएका हुन् । सागरपछि कमलसिंह ऐरीले ३ विकेट लिन सफल भए । कुशल मल्ल र पवन सरार्फले एक–एक विकेट लिए ।

हङकङका लागि अदित गोरावाराले सर्वाधिक २४ रन बनाए । कल्हान चल्लुले १९, राउनक कपुरले १२ र मोहमद हसनले ९ रन जोडे । चार ब्याट्सम्यान शून्य रनमै आउट भए ।