प्रहरी जवानलाई गोली हानेपछि जवाफी फायरिङ–प्रहरी महानिरीक्षक

597
views

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा प्रहरी जवानलाई गोली हानेपछि जवाफी फायरिङ गरिएको जानकारी दिएका छन् । बुधबार बिहान बसेको प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र डिला संग्रौलाले घटनाबारे जानकारी गराउन माग गरेपछि महानिरीक्षक खनालले सो घटनाबारे जानकारी गराएका हुन् ।

खनालका अनुसार भोजपुर नगरपालिका–७ स्थित हाटबजार लाग्ने स्थानमा सुरक्षाका लागि नेपाल प्रहरी खटिएको बेलामा अचानक नेत्रविक्रम चन्द समूहले गोली प्रहार गरेपछि घटना भएको हो ।

‘प्रहरी जवान सञ्जिव राईको छातीमा गोली लाग्यो र उनीहरुलाई नियन्त्रण गर्ने सन्दर्भमा प्रहरीबाट जवाफी फायर हुँदा विप्लव समूहका ओखलढुंगा इञ्चार्ज निरकुमार राईलाई पनि गोली लाग्न पुग्यो,’ उनले भने । गोली लागेका दुवै जनाको उपचारका लागि अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेको थियो ।

उक्त घटनामा प्रहरी जवान थमनाथ भट्टराईको काँधमा गोली लागेको र घटना स्थलबाट ठूलो चाइनिज पेस्तोल एक थान, त्यसको म्याग्जिन एक थान र उक्त पेस्तोलमा लाग्ने छ राउण्ड गोली समेत बरामद भएको जानकारी गराए ।

उक्त समूहका अन्य चाररपाँच जना फरार रहेकाले खोजतलास जारी रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।