मनसुन सक्रियः बढ्दै बाढीपहिरोको जोखिम

650
views

काठमाडौँ, २६, असार । मनसुनी गतिविधि सक्रिय भएसँगै आइपर्ने प्राकृतिक विपद्को जोखिम कम गर्न सम्बन्धित निकाय थप चनाखो भएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले निरन्तर वर्षाको क्रम अझै केही दिन रहने भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन आह्वान गरेको छ । यस अवधिमा नेपालको अधिकांश स्थानमा वर्षा हुने र केही स्थानमा भारी वर्षा हुने र एक/दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।

“काठमाडौँ उपत्यकामा पूर्ण बदली छ,” उहाँले थप्नुभयो, “अन्यत्र धेरैजसो स्थानमा मध्यम खालको बदली भइरहेको छ । ” उहाँका अनुसार गएको २४ घण्टामा सबैभन्दा धेरै बुटवल भैरहवा क्षेत्रमा ६२ मिलिलिटर पानी परेको छ । त्यसपछि विराटनगर क्षेत्रमा ४२ मिलिलिटर, सिमरामा ३४ मिलिलिटर, दाङमा २१, नेपालगञ्जमा १७, काठमाडौँ उपत्यकामा १५, पोखरामा र ताप्लेजुङमा १३÷१३ मिलिलिटर पानी परेको छ । “मनसुनको न्यून चापीय क्षेत्र नेपाल र भारतको सिमानामा आइपुगेकाले पनि बढी वर्षा भएको हो,” बासीले थप्नुभयो, “यसले बङ्गालको खाडीको बाष्पीय हावा तानिरहेको छ ।”

बाढी पूर्वानुमान महाशाखाले बढ्दो वर्षात्का कारण नदीको बहाव बढ्नाले तराईका केही क्षेत्रमा आकस्मिक बाढी आउने र डुबान हुनसक्ने जनाएको छ । महाशाखामा जलविज्ञ विनोद पराजुली र सुनिल पोखरेलसहित प्रभाकर यादव, सञ्जीव कर्माचार्य, दुर्गा घिमिरे लगायतका कर्मचारी निरन्तर नदीको सतह घटबढको अवलोकनमा जुट्नु भएको छ । भर्खरै बबरमहल सरेको महाशाखाको व्यवस्थापन भने लथालिङ्ग छ तर पनि बाढीको पूर्वसूचनालाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिइएको छ ।

“पूर्वी क्षेत्रको प्रदेश १ को चुरे र पहाडी क्षेत्र प्रदेश २ र ३ का चुरे र पहाडी क्षेत्रका स्थानीय नदीमा आकस्मिक बाढी आउन सक्नेछ,” महाशाखाका जलविज्ञ विनोद पराजुलीले भन्नुभयो, “काठमाडौँका साना र मझौला नदी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र चुरे शिवालिक क्षेत्रबाट बहने नदीमा आकस्मिक बाढी आउने सम्भावना छ ।”

बेसिनका हिसाबले मझौला नदी कन्काई, कमला र बाग्मती, साना नदीमा पूर्वको मेची, विरिङ, निन्दा, पथरी, मोरङ, सुनसरी, ईलामबाट बहने साना नदीहरू, उदयपुरको त्रियुगा, सप्तरीको खाँडो, महोत्तरीको रातु, रौतहटको लालबकैयामा बाढीको उच्च जोखिम छ । ती नदीले छोएका होचा भू–भाग डुबानमा पर्ने हुँदा केही बस्ती अन्यत्र सार्नुपर्ने अवस्था आउन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने पराजुलीले बताउनुभयो ।

बिहीबारदेखि भने पश्चिमका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर क्षेत्रका नदीमा बाढीको जोखिम बढ्नेछ । भेरी नदीको बहावले सतर्कताको तह छोइसकेकाले निरन्तर वर्षा कायम रहे तटीय क्षेत्रमा जोखिम बढ्ने उहाँले जानकारी दिनुभयो । पराजुलीका अनुसार वर्षात्ले गलिसकेको पहाडी भेगमा भने पहिरोको खतरा बढ्दैगएको छ । प्रदेश १, ३, ५, ६ र ७ का पहाडी भेगमा पहिरोको जोखिम बढेकाले त्यस क्षेत्रका बासिन्दाले सतर्कता अपनाउन पर्ने अवस्था आइसकेको छ ।

काठमाडौँमा भने सतर्कता तहमा पुगिनसके पनि लगातार वर्षा भएमा डुबान हुने सम्भावना छ । यहाँका भौतिक संरचनाको चाप, साँघुरा नदी र पानीको निकास अन्यत्र नभएकाले पनि चाँडै नै नदीको सतह माथि आउने गरेको छ । सन् १९९३ ताका २३६ मिलिलिटर पानी पर्दा उपत्यका डुबानमा परेको थियो तर गत वर्ष १३० मिलिलिटर पानी परेकै भरमा भक्तपुर डुबानमा परेको थियो ।

मध्य र पूर्वको वर्षा र बाढीको अवस्था कम्प्युटरमा नियालिरहनुभएका जलविज्ञ सुनिल पोखरेलले बाढीले नदीको सतर्कताको सतह नाघ्नासाथ म्यासेज पठाएर स्थानीयलाई सचेत बनाउन तयारी अवस्थामा रहेको जनाउनुभयो । रातभर पानी पर्दा झिमिक्क निदाउन नपाएको भन्दै उहाँले दिउँसो एकछिन निदाएपछि फेरि रातभर जाग्राम बसी बहाव अवलोकन गर्ने सुनाउनुभयो । महाशाखाले २२४ वटा जोखिमक्षेत्र पहिचान गरी त्यसमा ध्यान केन्द्रित गरेको जनाएको छ ।

बाढी र पहिरोको सम्भावित जोखिम अवलोकनसँगै प्राप्त सूचनालाई राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रमा पठाउने कार्यलाई महाशाखाले निरन्तरता दिइरहेको छ ।

तयारी अवस्थामा केन्द्र
मनसुन आपतकालीन कार्ययोजना २०७६ अनुसार राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र डुबान, बाढी, पहिरो लगायतको जोखिमको प्रतिकार गर्न तयारी अवस्थामा रहेको छ । यसपटक तराईका २३ वटा जिल्ला बाढीको सम्भावित जोखिमयुक्त जिल्लाका रूपमा पहिचान गरी तयारी थालेको केन्द्रका प्रमुख वेदनिधि खनालले बताउनुभयो ।

“पहाडमा भने विकासको नयाँ ढाँचाले पहिरोको उच्च जोखिम बढ्दैगएको छ,” उहाँले भन्नुभयो, “तर पहिरोको पूर्वसूचना छैन बढी पानी परेका सुरक्षित स्थानमा सर्नुस् भन्नुबाहेक अरू उपाय छैन ।”

केही दिन अघिमात्र पाँचथरमा अचानक पहिरो गएपछि जोखिमयुक्त २५ घरलाई अन्यत्र सारी सुरक्षित पारिएको जानकारी उहाँले दिनुभयो । कार्ययोजना अनुसार स्थानीय तहको गाउँपालिका, नगरपालिका, जिल्ला तहमा आफ्नै छुट्टै सञ्जालको निर्माण गरिएको छ ।

प्रदेश तहमा आफ्नै सञ्जाल छ र सबैलाई सहयोग गर्ने केन्द्र तहको व्यवस्थापन रहेको खनालले जानकारी दिनुभयो । स्थानीयदेखि केन्द्रसम्म अन्य निकाय रेडक्रस, गैरसरकारी निकाय, अन्तर्रा्ष्ट्रिय संस्था, मानवअधिकारकर्मी र नागरिकको फरक सञ्जालले समेत विपद्को तयारीमा सघाइरहेको छ ।

निश्चित स्थानमा सुरक्षाकर्मी, उद्धार सामग्री र राहत सामग्री तयारी अवस्थामा राखेका छौँ, खनालले भन्नुभयो जिल्लामै क्विक रेस्पोन्स टिम तयार छ । उहाँका अनुसार प्रदेशमा नेपाली सेना, सशस्त्र प्रहरीको डफ्फा तयारी अवस्थामा छ । काठमाडौँ, इटहरी र सुर्खेतमा आपतकालीन उद्धारका लागि हेलिकोप्टर तयार छ । मौसम, बाढी र वर्षा तीनथरी सूचनाका लागि आपसी समन्वय तीव्र पारिएको उहाँले बताउनुभयो ।

विपद् पूर्वतयारीका चुनौती
एकपटक समस्या आइपरेपछि भविष्यमा समाधान गर्न अझ राम्रो बनाउनुपर्ने हुन्छ । यस मामलामा सरकार र सम्बन्धित निकायको ध्यान अझै जान नसकेको भन्दै सरोकारवाला तथा विगतमा विपद्बाट पीडित भएकाहरू गुनासो गर्छन् ।

आपतकालीन कार्य सञ्चालन केन्द्रले गृह मन्त्रालयअन्तर्गत रहेर काम गर्दैआएको छ । तथापि यस्ता विपद्को पूर्वतयारी अझै पनि सरकारको प्राथमिकतामा पर्न नसकेको केन्द्र प्रमुख खनाल स्वीकार गर्नुहुन्छ । “विगतको पाठ सिकेर निर्माणको गतिविधिदेखि बस्ती पुनस्र्थापनासम्मका गतिविधि राम्रो हुनुपर्ने हो तर विविध कारणले खासै गर्न सकिएको छैन,” उहाँले भन्नुभयो, “सडक, बाँध र भौतिक निर्माण वर्षाकै समयमा बढी हुँदा क्षति झन् बढेको देखिन्छ ।”

त्यस्तै अन्य चुनौतीका रूपमा जोखिम न्यूनीकरण मूल प्रवाहीकरण नहुनु, साधनस्रोतको व्यवस्थापन र उपलब्धतामा राज्यको ध्यान नजानु, मानिसमा चेतना र सूचना प्रसारणको कमी र तत्काल आइपर्ने विपद्को नेतृत्व प्रणालीको अभाव रहेको उहाँ सुनाउनुहुन्छ । अन्तर्रा्ष्ट्रिय चलन हेर्ने हो भने यस्ता राष्ट्रिय तथा स्थानीय विपद् आइपर्दा एकजनाको नेतृत्वमा एकद्वार प्रणालीमा काम हुनेगर्छ तर नेपालमा पुरानो ज्ञान, क्षमता र सिकाइबाटै जोखिम घटाउने उपाय अपनाइँदैछ । गोरखापत्र अनलाईनबाट