रुसी हस्तक्षेपबारे एफबीआईको अनुसन्धान घेरामा अमेरिकी राष्ट्रपति ट्रम्पका ज्वाईं कुश्नर

886
views

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरी ज्वाई वरिष्ठ सल्लाहकार जारेड कुश्नर एफबीआईको अनुसन्धानको घेरामा रहेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।
गत वर्ष भएको निर्वाचनमा रुसी हस्तक्षेपबारे एफबीआईले जारी राखेको अनुसन्धानका क्रममा कुश्नर पनि तानिने भएका हुन् । संघीय जाँच ब्यूरो एफबीआइका अनुसन्धानकर्ताहरुले ३६ वर्षीय कुश्नरसंग राष्ट्रपति निर्वाचनका क्रममा रुसले गरेको भनिएको हस्तक्षेपको छानविनका निम्ति महत्वपूर्ण जानकारी हुन सक्ने विश्वास गरेको अधिकारीहरुको भनाई छ ।
एफबीआईले सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनताका रुसबाट भएको सम्भावित हस्तक्षेप र ट्रम्प अभियानसंग त्यसको सम्बन्धबारे छानविन थालेको छ ।
नाम नखुलाइएका अमेरिकी अधिकारीहरुले कुश्नरबारे अनुसन्धानकर्ताहरुको चासो हुनु भनेको उनी कुनै अपराधमा संलग्न भइहालेको भन्ने गरी बुझ्न नहुने बताएका छन् । साथै, कुश्नरविरुद्ध कुनै कानुनी अभियोग लगाउने योजना नभएको उनीहरुले बताए ।
कुश्नरले गत वर्ष रुसी राजदूत सेर्गेइ किस्ल्याक तथा एक रुसी ब्यांकर सेर्गेइ गोर्कोभसंग भेटेको बताइएको छ ।
कुश्नरका वकिलले यसअघि नै आफुसंग ती भेटघाट बारे रहेका जानकारी कंग्रेस समक्ष बाँड्न तयार रहेको बताइसकेका छन् । कुश्नर ट्रम्पकी छोरी इभान्काका पति हुन् ।
ट्रम्पले आफ्नो अभियान र रुसबीच कुनै पनि सांठगांठ नभएको बताउँदै आएका छन् । सो छानविनलाई उनले अमेरिकी इतिहासमै कुनै राजनीतिज्ञविरुद्ध नियतवश छेडिएको सबभन्दा ठूलो अभियान भनेका छन् ।