बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो

426
views

काठमाडौं । बाढीपहिरो र डुबानमा परी शनिबार साझँसम्म ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ । शुक्रबार काठमाडौंमा तीन, खोटाङमा तीन, काभ्रे, भोजपुर, मकवानपुर, ओखलढुंगा र झापामा दुइ/दुई, पश्चिम रुकुम, रामेछाप, इलाम, बारा, पर्सा, ललितपुर, धादिङ र सिन्धुलीमा एक÷एक गरी २४ जनाको मृत्यु भएको थियो । शनिबार ललितपुरमा पाँच, भोजपुरमा तीन, ओखलढुंगा र रौतहटमा दुई÷दुई, काभ्रे, धादिङ, चितवन, पाल्पा, मकवानपुर, सुनसरी, सिन्धुली र डोल्पामा एक÷एक गरी २० जनाको मृत्यु भएको छ यो रिर्पोट विभिन्न स्रोतबाट आएको हो ।

नेपाल प्रहरीले भने बाढीपहिरो र डुबानमा परी शनिबार साझँसम्म ज्यान गुमाउनेको संख्या ३३ पुगेको जनाएको छ । प्रहरी प्रधान कार्यालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर मृत्यु हुनेको संख्या ३३ पुगेको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेमा ललितपुरमा ६, काठमाडौं, खोटाङ, भोजपुर, काभ्रे र मकवानपुरमा ३÷३ जना, सिन्धुली र धादिङमा २÷२ जना, इलाम, झापा, ओखलढुंगा, सुनसरी, बारा, पर्सा, रामेछाप र चितवनमा १÷१ जना छन् । केही मानिस बेपत्ता र गम्भीर घाइते भएका कारण मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

बाढीपहिरो र डुबानबाट २० जना बेपत्ता भएका छन् । डोल्पामा नौ, मोरङ, रौतहट र इलाममा तीन-तीन, झापा र धादिङमा एक÷एक गरी २० जना बेपत्ता छन्। बाढीपहिरो र डुबानबाट प्रदेश एक, दुई र तीनका जिल्ला बढी प्रभावित भएका छन्। लगातारको वर्षाबाट जनजीवन प्रभावित भएको छ।

गृह मन्त्रालयका अनुसार बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका विभिन्न स्थानहरुबाट शनिबारसम्म ३ सय ५८ जनाको सकुशल उद्धार गरिएको छ ।