दोस्रो चरणको निर्वाचन सम्पन्न गराउन सुनसरीमा सेना परिचालन

666
views

काठमाण्डौ, १२ जेठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन जेठ ३१ गते सफल बनाउन सुनसरीमा नेपाली सेना परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले आवश्यक क्षेत्रमा सेनाको गुल्म स्थापना गर्ने निर्णय गरेसंगै सुनसरीमा सेना परिचालन गरिएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीका अनुसार शान्ति सुरक्षा मजबुत बनाउनका लागि सेना परिचालन गरिएको हो । सुनसरीको धरान, इटहरी, दुहबी र देवानगन्जमा नेपाली सेनाको गुल्म स्थापना गरिएको छ ।
पूर्वी पृतना हेडक्वाटर इटहरीमा रहेको बटुकदल गणबाट सुनसरीको धरान उपमहानगरपालिका स्थित फुस्रे, देवानगन्ज गाउँपालीकाको कप्तानगन्ज, दुहबी नगरपालिको नेपाल विद्युत प्राधिकरणको सव स्टेशन र इनरुवा नगरपालिकाको खानेपानी कार्यालयमा सेनाको गुल्म स्थापना गरीएको छ ।
कप्तानगन्जमा सेनानी इन्द्र मगर, धरानमा सहसेनानी राजकुमार श्रेष्ठ, इनरुवामा सहसेनानी आमोद कार्की र दुहबीमा सहसेनानी गोविन्द श्रेष्ठको नेतृत्वमा सेना परिचालन गरिएको छ । गुल्ममा १ सय १० जना सेनाको टोली रहेको छ ।
भारतसंग सीमा जोडिएको सुनसरीमा तराईका विभिन्न भूमिगत समूह, सिके राउत समूह, लिम्बुवान र नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा लगायत संगठनले निर्वाचन विरोधी गतिविधि गर्न थालेपछी सुनसरीका अतिसंवेदनशील क्षेत्रमा नेपाली सेनाको गुल्म स्थापना गरिएको छ ।