पूर्वउपकुलपतिसहित आठ जनालाई भ्रष्टाचारको मुद्दा

611
views

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपतिसहित आठ जनालाई १६ करोड १० लाख ७५ हजार ८२ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियारले विशेष अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद, जरिवाना र बिगो रकम असुलको मागदाबीसहित मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

अख्तियारले सबैभन्दा बढी पूर्वउपकुलपति बलभद्रप्रसाद दास (बीपी दास) ले ४ करोड ८ लाख ९८ हजार १९ रुपैयाँ भ्रष्टाचार गरेको आरोप पत्रमा उल्लेख गरेको छ । त्यसपछि अस्पतालका तत्कालीन निर्देशक अरविन्दकुमार सिन्हाले ३ करोड ७५ लाख ३० हजार ६१९, रजिस्ट्रार तुलबहादुर श्रेष्ठले ५६ लाख ७७ हजार ४०५, लेखा प्रमुख दिनेशराज दाहालले २ करोड ३४ लाख ८१ हजार ८१९, डेपुटी म्यानेजर अमित श्रीवास्तवले १ करोड ७४ लाख भ्रष्टाचार गरेको उल्लेख छ ।

विशेष अदालतमा दर्ता भएको अभियोगपत्रमा ‘कम बोलपत्रको पत्र स्वीकृत नगरी बढी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृति तथा सम्झौता गरी भुक्तानीसमेत दिई तत्कालीन उपकुलपति बलभद्रप्रसाद दासले ४ करोड ८ लाख ९८ हजार १९ रुपैयाँ ७१ पैसा र अस्पतालका तत्कालीन निर्देशक अरविन्दकुमार सिन्हाले ३ करोड ७५ लाख ३० हजार ६१९ रुपैयाँ ७१ पैसा र तत्कालीन रजिस्ट्रार नन्दकुमार थापाले १ करोड ९६ लाख ९ हजार ८८० रुपैयाँ र रजिस्टार तुलबहादुर श्रेष्ठले ५६ लाख ७७ हजार ४०५ रुपैयाँ अस्वाभाविक रूपमा बढी मूल्य तिरी खरिद गर्ने÷गराउने कार्य गरी प्रतिष्ठानलाई नोक्सानी पु¥याएको उल्लेख छ ।

यस्तै, उपकरण सप्लायर्स कम्पनी प्रोसिजन मेडिकल प्रालि र बायोमेड इन्टरनेसनलका प्रोपाइटर चेतन अग्रवाल र उपकरण सप्लायर्स सर्विकेम डिस्ट्रिब्युटर्सका प्रोपाइटर उमेश अग्रवालले जनही १ करोड ४ लाख र ६० लाख ३७ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले अग्रवालद्वयलाई रकम हिनामिना तथा भ्रष्टाचार गरी आफूलाई फाइदा र प्रतिष्ठानलाई नोक्सानी हुने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४)अन्तर्गतको कसुर गरेको सप्रमाण पुष्टि भएको आरोपपत्रमा उल्लेख गरेको छ ।

अख्तियारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय महेन्द्रनगर कञ्चनपुर कार्यालय प्रमुख डिभिजन इन्जिनियर ग्रिष्मा ठगुन्ना र कञ्चनपुरका कार्यालय प्रमुख सिँचाइ डिभिजन इन्जिनियर अजितकुमार श्रीवास्तवविरुद्ध सोमबार विशेष अदालतमा भ्र्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियारले उनीहरूलाई गत १२ असारमा निर्माण सम्पन्न भइसकेको चौधर नदी नियन्त्रण योजनाको उपभोक्ता समितिको रनिङ बिल फरफारक गराइदिने प्रयोजनको लागि २ लाख रुपैयाँ घुस लिएको अवस्थामा रंगे हात पक्राउ गरेको थियो ।

अख्तियारले घरेलु तथा साना उद्योग विकास समिति, रोल्पाका खरिदार नीता शर्माले कार्यालयबाट खरिद भएको सामानको भुक्तानीमा कमिसनबापत सेवाग्राहीसँग ७० हजार घुस लिएको अभियोगमा विशेष अदालतमा रिसवत घुस (भ्रष्टाचार) मुद्दा दर्ता गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट गएको टोलीले खरिदार नीता शर्मालाई घुस रकमसहित पक्राउ गरेको थियो ।