बाढी प्रभावित क्षेत्रमा सर्प आतंक

802
views

राजविराज । बाढी प्रभावित क्षेत्रमा सर्पको बिगबिगी बढेपछि सर्पदंशको डरत्रास फैलिएको छ । बाढीमा सर्प बस्ने प्वालहरु बन्द भएका कारण मानवबस्तीमा छिर्न थालेपछि बाढीपीडितहरु त्रसित भएका हुन् ।

पछिल्लो पटक बाढी प्रभावित क्षेत्रमा एकैदिन तीन जना बाढीपीडितलाई सर्पले टोकेपछि सर्प आतंक बढेको हो ।
सर्प दंशबाट घाइते तीनै जनाको उपचार गराइ घर फर्केका छन् । बाढीप्रभावित तिलाठी कोइलाडी गाउँपालिका १ का ५० वर्षिय रामकिसुन सदा, हनुमाननगर कंकालिनी नगरपालिका ७ का ६२ वर्षिय कृतन मण्डल र राजविराज नगरपालिका १२ का ३६ वर्षिय रामकुमार यादवले सर्पले टोकेको थियो ।

अत्यधिक गर्मी र लगातार वर्षापछि आएको बाढीले सर्प निस्किएर आउँदा सर्पदंशका घटनामा बृद्धि हुदै गइरहेको अस्पतालको आकस्मिक कक्षले जनाएको छ ।
वर्षा र बाढीपछि सर्पदंशका ४४ जना विरामी उपचारका लागि अस्पताल भर्ना भएको र दैनिक पाँच÷सात जनासम्म सर्प टोकाइका विरामी उपचारका लागि आउने गरेको बताएको छ ।

सर्पदंशको घटना बढेपछि अस्पतालमा एन्टीस्नेक भेनम नामक औषधि पर्याप्त भण्डारण गरिएको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो ।